सवारी दुर्घटना रोक्न प्रदेश नं. ५ सरकारले ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने


नेपालगञ्ज १२ मंसिर – बढ्दो सवारी दुर्घटनाप्रति प्रदेश नं. ५ सरकार चिन्तित देखिएको छ । बुधवार मात्र अर्घाखाँचीको नरपानीमा सवारी दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको थियो । बसमा रहेका १६ जना यात्रु घाइते भएका थिए । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशमा बढ्दो सवारी दुर्घटना रोक्न अभियान चलाउने घोषणा गरेका छन् ।

‘बढ्दो दुर्घटनालाई न्यूनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने देखिन्छ ।’ मुख्यमन्त्री पोख्रेलद्धारा प्रेसित शोक बिज्ञप्तीमा भनिएको छ,–‘तसर्थ प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सन्चालन गर्दैछ । यो अभियानलाई सफल बनाउन स्थानीय तह यातायात व्यवसायी मजदुर लगायत सरोकारवाला सबैमा हार्दिक अपील गर्दछु ।’

मुख्यमन्त्री पोख्रेलले सडक क्षमता भन्दा धेरै सवारीसाधनको आवागमन,चालकको लापरवाही, सवारीसधानको अवस्थाका कारण सवारी दुर्घटना भएको औल्याएका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीव्र गतिमा सवारी हुईक्याउने प्रबृत्तीले दुर्घटनाको जोखिम बढेको मुख्यमन्त्रीको भनाई छ ।

दुर्घटनाको कारण पत्ता लगाएर सरकार यतिबेला सडक बिस्तारको अभियानमा रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले चालकलाई दुर्घटना जोखिमका बारेमा सचेत गराउने कार्यक्रम सन्चालन भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मितिः     १२ मंसिर २०७६, बिहीबार १८:१७  |