नेपालगञ्ज भञ्सारको लेखाजोखा : आयात घट्यो, राजश्व घट्यो


नेपालगन्ज -हरेक बर्ष लक्ष्य भन्दा धेरै बढी राजस्व संकलन गरेर चर्चामा आउने गरेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७६–०७७ को पहिलो चार महिनामा लक्ष्य भन्दा निकै कम राजस्व संकलन गरेको छ ।  नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा निर्धारित लक्ष्य भन्दा १ अर्ब ८० करोड २१ लाख रुपैयाँ कम राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।

साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा राजस्व संकलन लक्ष्य ५ अर्ब ५४ करोड २ लाख ४४ हजार रुपैयाँ रहेकोमा ३ अर्ब ७४ करोड ६० लाख ९ हजार रुपैयाँ मात्र संकलन गर्न सकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत टोप बहादुर भुषालले बताउनु भयो ।  उहाँले यस बर्ष विभिन्न बस्तुको आयात घटेकोले राजस्व संकलन प्रभावित भएको बताउनु भयो । सबैभन्दा बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थको समेत आयात गत केही महिना यता कम हुँदै गएकोले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको अधिकृत भुषालले बताउनु भयो ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार साउन महिनामा १ अर्ब २३ करोड ८९ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा ८६ करोड २९ लाख ४ हजार मात्र राजस्व संकलन भएको थियो ।  यसैगरी भदौ महिनामा १ अर्ब ५४ करोड ३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ८ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।  सोही प्रकारले असोज महिनामा पनि १ अर्ब ५४ करोड ३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ९६ करोड ४६ लाख ३ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।  कात्तिक महिनामा १ अर्ब २१ करोड २५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरिएकोमा ९० करोढ ९७ लाख ४१ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

गत आर्थिक बर्ष २०७५–०७६ मा नै सो नाकाबाट मासिक १ अर्ब भन्दा बढी राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षको भदौ महिना बाहेक अन्य कुनै पनि महिनामा १ अर्ब पनि राजस्व संकलन हुननसकेको तथ्यांकले देखाएको छ ।  गत बर्षबाट ठप्प रहेको जडिबुटीको निकासी भर्खरै मात्र शुरु भएको तथा अहिले आएर पेट्रोलियम पदार्थको आयात फेरी बढ्न थालेकोले मंसिर महिनाबाट लक्ष्य प्राप्त हुने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउनु भयो ।

यस नाकाबाट हाईस्पिड डिजेल, चामल, एलपी ग्यास, पेट्रोल, आलु, औद्योगिक मेसिनरी, खाद्यान्न मकै, पत्थर कोइला लगायतका विभिन्न वस्तुको आयात बढी हुने गरेको उहाँले बताउनु भयो ।  बढी निर्यात हुने बस्तुहरुमा जडिबुटी र रोजिन एण्ड टर्पेन्टाइनको निर्यात विगतका महिनाहरुमा निकै कम भएकोले पनि लक्ष्य अनुसार राजस्व संकलन नभएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

बाँके जिल्लामा स्थापना गरिएका ७ वटा छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द रहेकोले पनि अवैध चोरी पैठारी दिनदिनै बढ्दै जाँदा राजस्व संकलन प्रभावित भएको छ । छोटी भन्सार सञ्चालनमा आए भन्सारको राजस्वमा थप वृद्धि हुनुका साथै नेपालगञ्जको व्यापार व्यवसाय समेत फस्टाउने विश्वास गरिएको छ ।

प्रकाशित मितिः     10:37:36 AM  |