सीमावर्ती भारतीय बजार रुपैडियामा नेपाली ग्राहकको घुँइचो सबैले देखेकै हो । तर भारतीय ग्राहक पनि बिभिन्न उदेश्य लिएर नेपालगञ्ज आउने गरेका छन् भन्ने कुरा धेरैले नजरअन्दाज गर्ने गरेको पाइएको छ । सस्तो सामान किन्ने नाममा नेपालीहरु सीमावर्ती बजार पुग्छन् भने ब्राण्डेड सामानका लागि भारतीयहरु नेपालगञ्ज आउँछन् । त्यति मात्र कहाँ हो र ? क्यासिनो खेल्न, राम्रा होटलमा बस्नदेखि घुमफिरका लागि पनि भारतीयहरु नेपालगञ्ज आउने गरेका छन् ।
होटल
नेपालगञ्जमा पाँचतारेदेखि राम्रा सुविधा सम्पन्न होटल छन् । सीमावर्ती भारतीय बजार रुपैडिया, नानपारा, बहराइचक्षेत्रमा त्यस्ता होटल नभएकाले कतिपय भारतीयहरु यहाँ आउने गरेका छन् । उच्च र मध्यमबर्गका भारतीयहरु व्यापार, घुमफिरको सिलसिलामा यहाँ आउने गरेका छन् । तर त्यो संख्यात्मकरुपमा यहाँका होटलको बिजनेश बढाउने खालको भने छैन् ।
क्यासिनो
नेपालगञ्जलाई क्यासिनो सिटीका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । त्यसैले यहाँका तारे होटलमा धमाधम क्यासिनो सन्चालन भइरहेका छन् । त्यस्ता क्यासिनोमा नेपालीलाई प्रबेश निषेध गरिएको छ । भारतीयहरु क्यासिनो खेल्न आउने गरेका छन् ।
पर्यटन
मानसरोवर जानका लागि दक्षिण भारतबाट ठुला संख्यामा भारतीय तिर्थयात्री नेपालगञ्ज आउने गरेका छन् । त्यति मात्र होइन सीमावर्ती शहरबाट धार्मिक, तथा अन्य पर्यटनका लागि यहाँ आउने गरेका छन् । गाभर होमस्टे, बर्दिया राष्ट्रिय निकुञ्ज जान भारतीयहरु आउने गरेका छन् । बागेश्वरी मन्दिरको दर्शन गर्न आउनेको संख्या धेरै छ ।
सिनेमा
नेपालगञ्जमा सुविधा सम्पन्न फिल्म हल बागेश्वरी क्युएफएक्स छ । थप फिल्म हल बन्दै छन् । सुविधा सम्पन्न फिल्म हल हेर्न भारतीयहरु आउने गरेका छन् ।
आँखाको उपचार
फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा अधिकांस बिरामी भारतीय भर्ना भएका हुन्छन् । उनीहरु र नेपालीका लागि उक्त आँखा अस्पताल बरदान सावित भएको छ ।
अन्य ठाउँ जाने ‘ट्रान्जिट’
कर्णाली प्रदेश, पोखरा, स्वर्गद्धारी, काठमाण्डौ घुम्न जाने भारतीय पनि नेपालगञ्ज हुँदै जान्छन् ।
ब्राण्डेड सामान किन्न आउँछन्
धेरै नेपालीहरु सस्तो सामान पाइने भन्दै रुपैडिया जाने गर्छन् । तर कयौं भारतीयहरु राम्रो र गुणस्तरिय सामान किन्न नेपालगञ्ज आउने गरेका छन् ।
एमबिबिएस पढ्न
चिसापानीस्थित मेडिकल कलेज अध्ययनका लागि भारतका बिभिन्न ठाउँबाट विद्यार्थीहरु आउने गरेका छन् ।
अब फनपार्क र भाटभटेनीले तान्ने
नेपालगञ्जमा धमाधम फनपार्क र सुपरमार्केट भाटभटेनी बन्दै छ । यि दुवै क्षेत्रले उल्लेखिय मात्र भारतीय नागरिकलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ ।