नेपालगञ्ज – आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी प्रजातान्त्रिक उद्योगी,व्यवसायी संघले छलफललाई तिव्र बनाएको छ । संघकै निर्वाचनका बिषयमा सोमबार नेपालगञ्जमा बृहद छलफल भएको छ ।
आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा राय,सुझाव लिने काम भएको संघका अध्यक्ष पुरुषोत्तम शर्माले बताए । उनले भने,–‘निर्वाचनका विषयमा साथी भाईबीच सामान्य छलफल भएको हो । खास त्यस्तो केही होइन ।’ छलफलमा संविधानसभाका सदस्य भोला सिद्धिकी, प्रदेश सांसद एवं जडिबुटी व्यवसायी संघका अध्यक्ष मो याकुव अन्सारी, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिल शर्मा संघका पूर्व बरिष्ठ सदस्य गोपाल अधिकारी लगायतको सहभागिता रहेको थियो ।
संघका महासचिव ध्रुब दाहालले निर्वाचनको तयारी तिव्ररुपमा गर्ने र एकढिक्का भएर उमेदवार चयन गर्ने जस्ता बिषयमा छलफल भएको बताए । उनले व्यवसायीक उकता सहित निर्वाचन लक्षित छलफल अगाडी बढाउने पनि बताए ।
संघको निर्वाचनलाई राजनीतिक दलले समेत प्रतिष्ठाको बिषय बनाउने गरेका छन् । यसपटक नेपाली काँग्रेस र नेकपा निकट व्यवसायीबीच प्रतिस्पर्धा हुने निश्चित प्राय छ । यद्यपी व्यवसायीले प्यानल बनाउँदा सबै दलको आस्था राख्ने व्यवसायीलाई समेत समेट्ने गरेका छन् ।