भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !


नेपालगञ्ज १८ मंसिर – भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन बाँकेका जनप्रतिनिधिले स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिएका छन् । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्र्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते उक्त निकुञ्ज स्थापना भएको हो ।

निकुञ्ज स्थापनाको झण्डै एक दशक पछि पर्यटन पूर्वाधार तयार भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा यहाँका जनप्रतिनिधिले बुधवार सामुहिकरुपमा होमस्टे घुमघाम, ‘जङ्गल’ र ‘हात्ती सफारी’ गरे । प्रतिनिधिसभाका सांसद महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना, प्रदेश सांसद उषा पुन, संविधानसभाका सदस्य देवराज भारत, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, कोहलपुर नगरपालिकाका कार्यवहाक मेयर सन्जुकुमारी थारु, बैजनाथ, कोहलपुर र राप्तीसोनारी गाउँपालिकाका वडा अध्यक्षले निकुञ्ज अवलोकन गर्दै पर्यटकलाई निम्तो दिएका हुन ।

‘म सम्पूर्ण स्वदेशी र बिदेशी पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमणको निम्तो दिन्छु ।’ निकुञ्ज भ्रमणपछि सांसद अथकले भने –‘यहाँको प्राकृतिले दिएको आनन्दको अनुभुती अन्त सायदै मिल्छ !’ सांसद अथकले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्न आह्वान गरे ।

‘जिल्लाकै आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्पत्ति निकुञ्ज हामीसंग छ । यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागौ ।’ सांसद अथकले भने–‘ हामीले हाम्रो ठाउँबाट जे जति गर्न सकिन्छ लागेका छौं । सरोकारवाला निकायका अगुवालाई पनि लाग्न प्रेरित गर्छु ।’ सांसद अथकले निकुञ्जलाई नजिकको तिर्थ हेला बनाउन नहुनेमा जोड दिदै त्यसको प्रचार प्रसारमा अधिक जोड दिनुपर्ने बताए । उनले निकुञ्ज जस्ता प्राकृतिक सम्पदालाई वेवास्ता गर्न नहुने उल्लेख गरे ।

प्रदेश सांसद कृष्णा केसी नमूनाले हवाई र सडक यातायातको सबैभन्दा भरपर्दो सुविधा भएको बाँके निकुञ्जलाई पर्यटक सहजै भित्रिन सक्ने बताईन । उनले भनिन्–‘तर हामीले त्यसका लागि अझै मेहेनत गर्न बाँकी छ । प्रदेश सरकारका तर्फबाट के गर्न सकिन्छ, म पहल गर्न तयार छु । अहिले हामी जे जस्ता काम गरिरहेका छौं, त्यसलाई निरन्तरता दिदै अगाडी बढौ ।’ प्रदेश सांसद उषा पुनले जङ्गल सफारी र हात्ती सफाईका लागि बाँके राष्ट्रिय निकुञ्ज उत्कृष्ट गन्तव्य बन्ने निश्चित भएको बताईन ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र कोहलपुर नगरपालिकाको कार्यबहाक मेयर सन्जु थारुले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्बधन गर्न स्थानीय तह हातेमालो गर्न तयार रहेको बताए । उनले स्थानीय जनताको आयस्तरको माध्यम निकुञ्जलाई बनाउने गरी काम गर्न सकिने स्पष्ट पारे । ‘पर्यटक यहाँसम्म कसरी ल्याउने भन्नेमा अब हाम्रो ध्याना जानुपर्छ ।’– उनीहरुको एकस्वर थियो ।


भ्रमण वर्ष २०२० प्रदेश समितिका सदस्य कृष्ण चौधरी, जिल्ला समितिका सदस्य एवं सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक कृष्ण केसीले बाँके निकुञ्जलाई उत्कृष्ट गन्तव्य बनाउन प्रचार,प्रसारको अभाव भएको बताए । उनीहरुले भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटकलाई निकुञ्जमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । निकुञ्जका प्रमुख वार्डेन प्रमोद भट्टराईले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गरे । उनले भने,–‘यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन जोकोही आउन सक्छन् ।’

बाँके राष्ट्रिय निकुञ्ज नजिक होमस्टे छन् । त्यहाँ स्थानीय परिकार खान पाईन्छ । बुधवार जनप्रतिनिधि सहितको टोलीले गाभर होमस्टेबाट जङ्गल सफारी शुरु गरेको थियो । सफारीको व्यवस्थापन होमस्टे सन्चालकले नै गर्दिन्छ । गाभरबाट शुरु भएको सफारी ३० किलोमिटरसम्मको भएको थियो । जङ्गलमा बाघ,चौका, बदेल जस्ता वन्यजन्तु देखिएको सफारीमा सहभागिहरुले बताए । बुचापुरमा पुगेर हात्तीसफारी समेत गरिएको थियो । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।जसको निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । निकुञ्ज भित्र वन्यजन्तु आवतजावतमा अप्ठेरो पर्ने महादेवपुरी क्षेत्र पनि पर्दछ । यो निकुञ्ज २०० क्षेत्र मध्ये क्षेत्रको एउटा भाग पनि हो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । सन्य २०१८ को बाघ गणना अनुसार यस निकुञ्जमा २१ वटा पाटे बाघ रहेका छन ।

क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्रा्ष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो, जसमा बाँकेका ७, दाङका ३ र सल्यानका ३ वटा गा.वि.स. पर्दछन् । यी गा.वि.स.मा झण्डै ४३,००० मानिसहरूको बसोबास रहेको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ ।

प्रकाशित मितिः     5:23:09 PM  |