रारा तालमा फोरजी मोबाइल सेवा शुरु


मंसिर २०, काठमाडौं । नेपाल टेलिकमले आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा  शुरु गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा बिहीवारबाट शुरु भएको हो ।

रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यावसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा शुरु गरिएको हो । यो सेवाको शुरुवातसँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रवर्द्धन तथा प्रचार गर्न सहज हुने नेपाल टेलिकमले बताएको छ ।

त्यस क्षेत्रमा जाने पर्यटकले अब त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारणसमेत गर्न सक्नेछन् ।समुद्री सतहभन्दा २ हजार ९७२ मिटर उचाइमा रहेको उक्त तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

तत्कालिन राजा महेन्द्रद्वारा विसं२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो ।

फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए । रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो ।

पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यावसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।

प्रकाशित मितिः     २१ मंसिर २०७६, शनिबार ११:३३  |