नेपालगञ्ज – स्कुले बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि अहिले कोहलपुर आन्दोलित छ । विद्यार्थी र अभिभावकले शुरु गरेको आन्दोलन मत्थर पार्न प्रहरीलाई हम्मेहम्मे परेको छ । प्रहरीले सय राउण्ड प्रहरी गोली प्रहार गरेको छ । दुई जना विद्यार्थी गोली लागेर घाइते भई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका छन् । प्रहरी समेत घाईते भएका छन् ।
अवस्था झन् तनावपूर्ण बन्दै जाँदा सार्वजनिकरुपमा संयमता अपनाउन अपील गरिएको छ । कोहलपुरमा थप क्षती नहोस् भन्दै सामाजिक सन्जालमा संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपील गरिएको छ । दोषी ट्रक चालकलाई कारवाही गर्नुपर्ने, सवारी दुर्घटना रोक्न सशक्त कदम चाल्नुपर्ने, घाइतेहरुको उपचार हुनुपर्ने र प्रहरीको कदमका बारेमा छानविन हुनुपर्ने जस्ता आवाज उठाइएको छ ।
कोहलपुरमा सामाजिक अगुवा तथा होटल व्यवसायी देव अर्यालले कोहलपुरलाई थप क्षती हुनबाट जोगाउन संयमता अपनाउन बाहेकको बिकल्प नभएको बताए । उनले घटना शान्त भइसकेपछि कहाँ के गर्ने र कसलाई कारवाही गर्ने भन्ने जस्ता बिषयमा खुलेर छनफल गर्न सकिने बताउँदै भने,–‘तर तत्काललाई कोहलपुरलाई थप क्षती हुनबाट जोगाउ ।’
बाँकेका सम्पूर्ण राजनितिक दल तथा नागरिक समाजका अगुवाहरुले सबैलाई संयमित रहन आग्रह गरेका छन । आईतबारको घटनापछि बसेको सर्वपक्षिय बैठकले सबै राजनितिक दलका कार्यकर्ता तथा आम सर्वसाधारणलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको हो । बैठकले घटनाप्रति दुख ब्यक्त गर्दै संयमता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णलाल उपाध्यायको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले घटनाको घाईतेहरुको उपचारको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । साथै कोहलपुरमा उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै सबै राजनितिक दलले आ-आफ्नो क्षेत्रबाट अपिल गर्ने निर्णय भएको नेकपा बाँकेका सचिव अशोक कोईरालाले जानकारी दिए । आईतबार भएको आन्दोलनमा क्षतीग्रस्त भएका सवारी साधन तथा धनमालको क्षतीपूर्तिकालागि गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत भएको कोईरालाले बताए ।