बाँके २३ मंसिर – जानकी गाउँपालिका –६ का कैलाश गडरियाले चारवर्ष पछि आफ्नो खेतमा गहुँबाली लगाएका छन् । सिंचाईको सूविधा नहुँदा उनको खेतमा गहुँ फलेको थिएन । यसपटक नहरमा सिक्टाको पानी आइपुग्यो । त्यही नहरबाट पप्पसेटबाट पानी तानेर खेत सिचाई गरेका छन् । ‘चारवर्ष पछि मेरो खेतमा गहुँ फल्ने भयो’– खुःसी हुँदै कैलाशले भने ।
कैलाशकै छिमेकी दिपेन्द्र बर्माले सात बिघा खेतमा लगाएको गहुँमा पर्याप्त पानी पुगेको छ । उनले पनि लामो समयदेखि गहुँ लगाउन छाडेका थिए । ‘धान त जेनतेन लगाईहाल्थ्यौ । तर गहुँलाई मुस्किल पथ्र्यो ।’ बर्माले भने–‘ तर अहिले सिक्टाको पानी आए पछि राहात भएको छ ।’ राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानीले खेत सिंचाई गर्ने यहाँका कैलाश र दिपेन्द्र जस्ता कृषकको सपना पुरा हुँदै छ ।
सिक्टाको पानी नेपालगन्ज पुगेको छ । कुनै बेला राप्तीको पानी खेतमा ल्याएर सिंचाई गर्ने योजना सुन्दा सपना जस्तै लाग्थ्यो कोहलपुर नगरपालिका –१० का बलराम हरिजनलाई । तर त्यो सपना पुरा भएको छ । ‘यही जुनमा आफ्नो खेतमा राप्तीको पानी देख्न पाइयो ।’– उमेरले ७० कटेका हरिजनले भने ।
पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगन्ज उपमहानगरपालिका–२० स्थित राँझामा पुगेको हो । डुडुवा शाखा नहर पप्पु कन्ट्रक्सनले सम्झौता अनुरुप निर्माण नगरे पनि खोलालाई मर्मत गरेर पूरानै संरचनामा पानी सञ्चालन गरिएको आयोजनाका डिभिजन इन्जिनियर एकराज भट्टराईले जानकारी दिए ।
डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरा गाउँपालिकामा पनि पानी पुगेको छ । शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पानी सञ्चालन गरिएको छ । आइतबारसम्म पुरैनी उपशाखामा पनि पानी सञ्चालन गर्ने सिक्टा सिँचाइ आयोजनाको तयारी छ । खोलामा पानी सञ्चालन भएको थाहा भएपछि ठाउँठाउँमा किसानले पम्पिसेटको प्रयोगबाट गहुँमा सिँचाइ गरिरहेका छन् ।
१७ मंसिरदेखि सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको पूरै क्षेत्र ४५.२५ किलोमिटरमा नियमित पानी सञ्चालन भइरहेको छ । सिक्टा सिँचाइ आयोजनाको पश्चिमी र पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । आयोजनाको लागत २५ अर्बको रहेको छ ।