बाँके २४ मंसिर -स्वास्थ्यराज्य मन्त्री नवराज रावतले ‘डाक्टरहरु गाउँ जानै’ नमानेको बताएका छन् । मन्त्रालयले खटाएको ठाउँमा नजान चिकित्सकले अनेक बाहना गर्ने गरेको बताउँदै राज्यमन्त्री रावतले ‘डाक्टर गाउँ नगए, गाउँका बिरामीलाई उपचार कस्ले गर्ने ?’ भन्दै प्रश्न गरे । मन्त्री रावत आईतवार र सोमबार बिभिन्न अस्पताल निरीक्षणको गर्न बाँके आएका थिए । खजुरामा क्यान्सर अस्पताल निरीक्षण गरेपछि रावतले आज बिभिन्न पश्चिमकै रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पताल पुगेर अस्पताल अवलोकन गर्नुका साथै चिकित्सक र कर्मचारीसंग भेटघाट गरे । सोही क्रममा मन्त्री रावतले चिकित्सकहरु गाउँ भन्दा शहरमै केन्द्रीत हुने प्रबृत्तीले ग्रामिणक्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुने अबस्था आएको औल्याए ।
‘जुम्ला होस् चाहे हुम्ला वा बाँके जहाँ भए पनि सरकारले खटाएको ठाउँमा जानुपर्छ ।’ मन्त्री रावतले भने–‘तर अह ! त्यस्तो छैन । कहिले अनेक बहाना गरेर डाक्टर सा’बहरु गाउँ जान मान्नुहुन्छ ।’ मन्त्री रावतले चिकित्सकको कमजोरी मात्र औल्याएनन् उनीहरुका समस्याका बारेमा पनि जानकार भएको बताए । ‘तपाईहरुका पनि बृत्त विकासका थुप्रै समस्या छन् । बैतडीमा एउटा चिकित्सकले सबै काम गर्नुपर्ने बाध्यता रहेछ । यहाँहरुका समस्याका बारेमा जानकार छौं ।’– मन्त्री रावतले भने । उनले समायोजन लगायतका उब्जिएका समस्या समाधानको पहल भइरहेको बताउँदै चिकित्सकलाई आश्वस्त पार्ने प्रयास गरे ।
सुर्खेत निवासी राज्य मन्त्री रावतले भेरी अस्पता पश्चिमकै ठुलो अस्पताल भएको बताउँदै यसलाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने,–‘यो अस्पताल नेपालगञ्जमा भए पनि पश्चिमकै बिरामीको उपचार हुने अस्पताल हो । भेरी अस्पतालसंग हाम्रो नजिकको सम्बन्ध छ ।’
मन्त्री रावतले अस्पतालमा फोहोर व्यवस्थापनको काम नभएको खिन्नता प्रकट गरे । भने,–‘म अस्पताल निरीक्षणका लागि आउँदै छु भन्ने समाचार अनलाईनमा प्रकाशित भएपछि उक्त समाचारप्रति टिप्पणी गर्दै एकजनाले मन्त्रीलाई अस्पतालको ट्वाईलेटको सफाईको अवस्था देखाउनु भनेर लेख्नुभएको थियो । साच्चिकै आएर हेर्दा त टिप्पणी गरे जस्तैआए जस्तै फोहोर रहेछ ।’ मन्त्री रावतले अस्पताललाई सफा चिटिक्क बनाउन किन नसकेको भन्दै अस्पताल प्रशासनको ध्यानार्कषण गराएका छन् ।