नेपालगञ्ज २४ मंसिर – नेपालगञ्जको राजनीति र निजीक्षेत्रका प्रभावशाली व्यक्तित्व दामोदर आचार्य आठ महिना पछि गृह नगर नेपालगञ्जमा फर्किएका छन् । क्यान्सरको उपचारका लागि उनी भारतको राजधानी दिल्लीमा थिए । काठमाण्डौमा रहेर आचार्यको दिल्ली आउजाउ भइरहन्थ्यो । आफुलाई ठिक भएको महसुस भए पछि आचार्यले नेपालगञ्ज आउने निधो गरे ।
मंगलवार बिहान राँझा बिमानस्थलमा ओर्लिदा आचार्यको अनुहारमा चमक देखिन्थ्यो । बिमानबाट उनी तल ओर्लिए । यात्रु आउआउ गर्ने कक्षमा आफै आईपुगे । जहाँ आचार्यलाई ‘रिसिभ’ गर्न आफन्तजन र शुभेच्छुकहरु पुगेका थिए । शुभेच्छुक र आचार्यको भेटघाटको माहोलै बेग्लै बन्यो । क्यान्सर रोगको उपचार पछि आफ्नो घर फर्किएर आउँन पाउँदा आचार्य खुःसी भएको कुरा उनको अनुहारको चमकबाट प्रष्ट हुन्थ्यो । शुभेच्छुकले स्वागत गर्दै आचार्यलाई माला लगाइृदिए ।
‘म ठिक छु, तपाईहरुलाई कस्तो छ ?’ भेट्न आएका शुभेच्छुकलाई आचार्य उल्टो अरुको हालखबर सोध्ने गर्छन । उच्च आत्मबल सहित उनी घर फर्किएको शुभेच्छुकले महसुस गरेका छन् । शुभेच्छुकसंग अहिले स्वास्थ्य अवस्था र अरु बिषयमा हेल्लो हाई चलिरहेको छ । एयरपोर्टबाट गाडीमा सिधै उनी न्यूरोडस्थित घर आएका छन् । आचार्य घर आएको थाहा पाएपछि भेट्न जाने शुभेच्छुकको ताती नै लागेको छ । आचार्य दिल्ली र काठमाण्डौ हुँदा समेत धेरै जना भेटघाटका लागि गएका थिए ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष, महासंघको केन्द्रीय सदस्य रहिसकेका आचार्य निजी क्षेत्रको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्छन् । महासंघको निर्वाचन नजिकिदै गर्दा आचार्यको नेपालगञ्ज आगमनले निकै महत्व राख्छ । आचार्य निजी क्षेत्रको राजनीतिमा मात्र सिमित भएनन् । नेकपाको सांसद र मेयर पदमा निर्वाचन लडेर सम्मानजनक मत पाएका प्रभावशाली व्यक्ति हुन ।