प्युठान जिल्लाको उदयपुरकोटमा जन्मिएका दामोदर अधिकारी दाङ्गबाट माध्यामिक शिक्षा उत्तिर्ण गरी २०४० सालमा परिवार सँगै बसाई सरेर बर्दिया पुग्नुभयो । २०४५ सालमा शिक्षण पेशामा आवद्ध भई प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गर्नुभयो । समाज परिवर्तनमा केहि गरौं भन्ने युवा जोश अनि शिक्षकप्रतिको समुदायको विश्वास र सम्मानले उनलाई नयाँ नयाँ काममा अग्रसर गरायो । नयाँ मुलुकको नामले चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला मध्ये आदिवासी थारु समुदायको बाक्लो उपस्थिति भएको जिल्ला बर्दियामा जिल्लामा व्याप्त श्रम शोषण, महाजनी प्रथा, अशिक्षा र अन्धविश्वासबाट समुदायलाई मुक्त गर्ने सोच थियो तर कसरी गर्ने भन्ने अन्यौल नै थियो । २०४९ सालको अन्त्य तिर एउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुने अवर मिल्यो र त्यो अवसर नै अधिकारीको जीवनमा सहकारी यात्राको प्रस्थान बिन्दु तर उक्त अवसर शिक्षकको हैसियतमा प्राप्त भएको थियो । सोहि कार्यक्रममा सहकारीको विषय प्रवेश भयो । उक्त विषय प्रवेश गराई सहजिकरण गर्ने व्यक्ति काभ्रेका रामहरि के.सी. उनी एउटा सहकारी संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो । सहकारी संस्था स्थापना गर्न २५ जना चाहिने र सहकारी मार्फत समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न सकिने विषय सोहि कार्यक्रममा जानकारी भयो । कार्यक्रममा ५० पैसा संकलन गरी सुरु गरिएको नवलपरासीको विकु बचत तथा ऋण सहकारी संस्थाको चर्चा भयो । विकुको सफलताले अधिकारीमा उर्जा थप्यो र भेलाको तयारीमा लागे तर ३÷४ पटकको प्रयासमा पनि धेरैले विश्वास गर्नुभयोनन्, उल्टो पैसा उठाएर खानको लागि नाटक गर्दैछन् भन्ने आरोप खेप्नु प¥यो, अधिकारीले विगत सम्झिनु भयो ।
सहकारी सम्पन्नहरुलाई भन्दा विपन्न र मध्यम वर्गीयहरुको आवश्यकता थियो त्यसैले केहि शिक्षकहरु र केहि कमैयाहरु मिलेर १६८० रुपैयाँ जम्मा गर्नुभयो र सहकारी सुरु भयो । सहकारीको शेयर प्रति कित्ता एक सय रुपैयाँ हुन्छ भन्ने सम्म जानकारी नभएको बेला ४२ जनाबाट प्रति व्यक्ति ३० रुपैयाँ शेयर र १० रुपैयाँ मासिक बचत जम्मा गर्नुभयोर संस्था दर्ताको लागि पेश भयो तर प्रति कित्ता एक सयको शेयर नभएकोले दर्ता भएन । शिक्षकहरुलाई त एक सय पु¥याउन कठीन थिएन तर कमैयाहरुलाई त्यो पनि कठीन हुने भएपछि सडक नाटक, कविता, गित सुनाउँदै पैसा संकलन गर्ने अभियान चलाएर दर्ताको लागि आवश्यक पुँजी सिर्जना गर्नुभयो । यसरी बर्दिया जिल्लामा गठन भएको पहिलो बचत तथा ऋण सहकारी संस्था हाल अन्तर्राष्ट्रिय स्तरमा समेत उदाहरणीय सहकारी संस्था बनेको छ । “कमैयाहरु सञ्चालक समितिमा थिए । दिनभरी काम गर्नुपर्ने भएकोले रातीमा बैठक बस्नु पर्ने, राजनीतिक परिवर्तनको रस्साकस्सी चलिरहेको अवस्था, सहकारीको नाममा राजनीतिक संगठन गर्नुभयोको आरोपमा प्रहरीको निगरानी” अधिकारी ती दिन सम्झनुहुन्छ ।
कुनै पनि अभियानले सफलता पाउन त्यसको नेतृत्वको मुख्य भुमिका हुन्छ । अधिकारीले बर्दियामा मात्र होइन पश्चिम नेपालकै सहकारीको जग बसाल्नुभयो । वि.सं. २०५० साल असोज ९ गते दामोदर अधिकारीको नेतृत्वमा सिर्जना बचत तथा ऋण सहकारी संस्था स्थापना भयो । अधिकारी उक्त संस्थाको अध्यक्ष बन्नुभयो र त्यस यताका निरन्तर २६ वर्ष सहकारी अभियानमा बिताउनु भएको छ । उहाँको नेतृत्वमा रहेको संस्था विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्न सफल भएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल सरकारबाट प्रदेश नं.५ को उत्कृष्ठ संस्थाको रुपमा दुई लाख नगद सहित पुरस्कृत भयो । नेपाल सरकार र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सञ्चालन गर्नुभयोको राष्ट्रिय स्तरको गुणस्तर प्रमाणिकरण कार्यक्रममा लगातार चार वर्षदेखि प्रमाणिकरण भएको छ भने एशियाली ऋण महासंघबाट एशियाली स्तरको गुणस्तरीय संस्थाको रुपमा यस वर्ष अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गर्न सफल भएको छ । “नेता बन्न जस्तो सजिलो नेतृत्व गर्न हुँदैन, नेतृत्व गर्न त्याग, आत्म विश्वास र निरन्तरता चाहिन्छ” अधिकारीको भनाई छ ।
“सहकारी स्थापना गर्ने समयमा यस्तो सम्मान, प्रसंशा, पुरस्कार, प्रमाणिकरण र यति ठुलो कारोबार होला भन्ने सोचिएको थिएन । त्यतिबेला समाजमा रहेका आर्थिक, सामाजिक विभेदको अन्त्य गरी विपन्न वर्गलाई शोषणबाट मुक्त गर्ने भन्ने मात्र सोच थियो । काम गर्दै जाँदा केहि गरिएछ की जस्तो लाग्छ, अब त झन् धेरै गर्न सकिन्छ भन्ने उर्जा थपिएको छ ” अधिकारीको भनाई छ । सदस्य र समुदायले दिएको जिम्मेवारी निर्वाह गर्नु आफ्नो दायित्व भएकोले मैले के पाएँ भन्ने भन्दा पनि मैले के दिन सक्छु भन्ने सोचले मात्र आजको अवस्था आएको अधिकारीको भनाई छ । सहकारीले आर्थिक, सामाजिक, सांस्कृतिक एकता कायम गर्न महत्वपुर्ण भुमिका खेलेको छ भने साहुकारी प्रथाको अन्त्य भएको छ । बर्दिया जिल्लाको समुदायमा आधारित पहिलो बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापना भएको सिर्जना बचत तथा ऋण सहकारी संस्था सँगै उक्त क्षेत्रमा थुप्रै संस्था खुले ती मध्ये केहि निस्क्रिय छन् भने केहि हाल सञ्चालनमा रहेकाछन् ।
पछिल्लो समय सहकारी संस्थाको संख्या धेरै भएकोले एकीकरण मार्फत संख्या न्युनिकरण गरी गुणस्तर सुधार गर्नुपर्ने बहस चलिरहँदा सिर्जना बचत तथा ऋण सहकारी संस्था अन्य ५ वटा सहकारी संस्थासँग एकीकरण भई सिको बचत तथा ऋण सहकारी संस्था बनेको छ । सिको बचत तथा ऋण सहकारी संस्था सहकारी ऐन जारी भएपश्चात एकीकरण हुने बर्दिया जिल्लाको (सम्भवतः देश कै) पहिलो संस्था हो । उक्त संस्थाले २०७५ असार १ गते बाट पहिलो चरणमा ३ वटा संस्था एकीकरण भई एकीकृत कारोबार सञ्चालन गरेको थियो । हाल उक्त संस्थामा ८ हजार सदस्य, १८ जना कर्मचारी र ६ वटा कार्यालय (केन्द्रीय १, सेवा केन्द्र ५) मार्फत ३० करोडको पुँजी परिचालन गरिरहेको छ । संस्थाले विपन्न परिवारका सदस्यहरुलाई ८ प्रतिशत र अति विपन्न परिवारका सदस्यलाई ४ प्रतिशत व्याजदमा ऋण सुविधा उपलब्ध गराएको छ ।
अधिकारीको पहिचान सहकारी संस्थामा मात्र सिमित छैन । सफल सहकारी संस्थाको नेतृत्व सँगै विगत नौ वर्ष देखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । दुई कार्यकाल सञ्चालक सदस्य र हाल (तेश्रो कार्यकाल) लेखा सुपरिवेक्षण समिति संयोजक हुनुहुन्छ । सहाकरी संस्थामा लेखा सुपरिवेक्षण समितिप्रतिको बुझाईमा परिवर्तन ल्याउन अधिकारी संयोजक बनेपश्चात विभिन्न कार्यक्रम मार्फत चेतना वृद्धिको अभियानमा लाग्नुभयो र सोहि कार्यकालमा नेफ्स्कूनको आयोजनामा लेखा सुपरिवेक्षण समितिको प्रथम राष्ट्रिय गोष्ठी समेत सम्पन्न भयो । “पहिलो कार्यकाल सिक्दैमा बित्यो । दोश्रो कार्यकालमा धेरै जिम्मेवारी प्राप्त भयो र परिणाम आउने गरी काम पनि गरियो । विशेष गरी कर्मचारी संरचना, सेवा सुविधा, प्रविधिको विकास र आन्तरिकीकरण, साकोस एकरुपता प्रणालीको आधार तयार जस्ता दीर्घकालिन प्रभावका काम गरियो” अधिकारी भनाई छ “लेखा सुपरिवेक्षण समितिको संयोजक भएपश्चात सहकारी संस्थाको आन्तरिक लेखापरिक्षण निर्देशिका विकास, लेखा सुपरिवेक्षण समितिको क्षमता विकास र समितिप्रतिको बुझाईमा परिवर्तन, आन्तरिक लेखापरिक्षणको लागि व्यवस्थापन संरचना निर्माण गर्न राष्ट्रिय गोष्ठीबाट साझा प्रतिबद्धता पारित गर्ने कार्य गरियो” । दामोदर अधिकारी सहकारीको सफल नेतृत्वकर्ता मात्र नभई उक्त क्षेत्रमा उत्प्रेरक प्रशिक्षकको रुपमा समेत परिचित हुनुहुन्छ । थुप्रै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तालिम लिएका अधिकारी सिकाईलाई व्यवहारमा उतारेर देखाउने अब्बल नेतृत्वकर्ताको रुपमा चिनिन्छ । हाल अधिकारी पश्चिम नेपालको मात्र नभई नेपालकै उत्कृष्ट सहकारी अभियन्ताकोरुपमा स्थापित हुनुहुन्छ । नेफ्स्कूनमा दोश्रो कार्यकाल निर्वाचित भएपश्चात संघको जिम्मेवारीले आफ्नो अध्यापन पेशाबाट स्वेच्छिक अवकाश लिएर सहकारी क्षेत्रमा नीति, विधि र प्रविधि मार्फत सुशासन स्थापित गर्न लाग्नु भएका उहाँ जीवनभर सहकारी क्षेत्रमा क्रियाशिल हुने सोच रहेको छ । सहकारी अभियानमा दामोदर अधिकारीको भोगाईबाट धेरैले सिकाईका साथै उर्जा प्राप्त गर्न सक्ने देखिन्छ ।
सहकारीमा सुशासन प्रबद्र्धन र नेतृत्वको क्षमता विकासको लागि नेपालका झण्डै ७० जिल्लामा उहाँले प्रत्यक्ष योगदान गर्नुभएको छ । तराईका बिकट बस्ती देखि सुदुरपश्चिम र कर्णाली प्रदेशका विकट ग्रामीण बस्तीसम्म सहकारी प्रबद्र्धनमा उत्प्रेरकको रुपमा सहजिकरण गर्नुभएका अधिकारी साबिक राप्ती, भेरी, कर्णाली, सेती र महाकाली क्षेत्रका सहकारी प्रबद्र्धक हुनुहुन्छ । दैनिकजसो सञ्चार माध्यममा आउने नकारात्मक समाचारका कारण सहकारीप्रति समुदायको विश्वासमा दोधारे स्थिति सिर्जना भइरहेको अवस्थामा नेफ्स्कूनले सुरु गरेको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनको परीक्षण निर्देशिका विकास र सोको कार्यान्वयनमा उहाँको प्रमुख भुमिका रहेकोछ । पश्चिम नेपालमा संख्यात्मक र गुणात्मक दुवै हिसाबले सहकारीको अवस्था कमजोर रहेको अवस्थामा उक्त क्षेत्रमा गुणस्तर सुनिश्चितताको कार्यक्रम मार्फत सहकारीको विकास गर्ने सपना बुन्दा धेरैले विश्वास गरेनन् । यद्यपी सदैव काममा विश्वास गर्ने अधिकारीले जिद्दी गरेर नै उक्त कार्यक्रमको कार्यान्वयनमा अगुवाई गर्नुभयो । पहिलो पटक आफैंले नेतृत्व गरेको संस्था सहित प्युठान, दाङ्ग, सल्यान, सुर्खेत र बर्दियाका १० वटा संस्थाबाट सुरु भएको कार्यक्रममा हाल राम्रो सहभागिता रहेको छ । बचत तथा ऋण सहकारीमा सदस्यको पैसाको सुरक्षा पहिलो शर्त र सेवामा गुणस्तरीयता दोश्रो हुनुपर्ने उहाँको तर्क छ । नेफ्स्कूनको सञ्चालनमा रहेका झण्डै दुई दर्जन नीति, निर्देशिका निर्माणमा महत्वपुर्ण योगदान गरेका अधिकारी शुद्धिकरण मुलबाट भएमा मात्र तल शुद्धता प्राप्त हुने भएकोले संघहरु र संघमा नेतृत्व गर्ने अभियन्ताहरु सुशासनका सम्वाहक बन्नु पर्नेमा जोड दिनुहुन्छ ।