-लक्ष्मण फुयाल/बिजमाण्डू
काठमाडौं। घर निर्माणको सिजन सुरू हुनैलाग्दा यो वर्ष निर्माण सामाग्रीहरूको मूल्य सस्तिएको छ । निर्माणमा प्रयोग हुने सिमेन्ट, डन्डी, ढुंगा, रोडा र बालुवालगायतको मूल्य अहिले घटेको देखिन्छ । काठको भाउ भने घटबढ भएको छैन । निर्माण सामग्री उत्पादन उद्योगहरू बीचको मूल्य प्रतिस्पर्धा, विद्युतको सहज आपूर्तिका कारण उत्पादन लागतमा कमी आउनुका साथै उत्पादनकमा केही हदसम्म आत्मनिर्भरताका कारण बजारमा निर्माण सामग्रीको भाउ घटेको व्यवसायीहरूले बताएका छन् ।
अर्कोतर्फ, विगतका वर्षहरूका तुलनामा घर निर्माण हुने क्रम पनि यसपालि निकै कम भएकाले बजारमा निर्माण सामग्रीको माग घटेको छ । यसको असरस्वरूप निर्माण सामाग्री आपूर्ति चाप बढेको छ । यसकारण पनि उद्योगीहरुले विद्युत् सहज भएको बेला क्षमताभन्दा न्यून उत्पादनको अवस्थामा बसिरहन नपरोस् भन्ने सोचले निर्माण सामग्रीको मूल्य गत वर्षभन्दा घटाएर बजारमा पठाएका छन् । भूकम्पबाट भत्किएका धेरै घरहरूको पुनर्निर्माण भइसकेकाले पनि पछिल्ला दुई/तीन वर्षयताको तुलनामा अहिले घर निर्माण संख्या घटेको व्यवसायीहरूले बताएका छन् ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्छन् ‘बजारमा सिमेन्ट कम्पनीहरुबीचको प्रतिस्पर्धा, उत्पादन खर्चमा आएको कमी र अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य घटेकाले समग्रमा सिमेन्टको मूल्य घटेको हो ।’ अहिले सिमेन्टको मूल्यमा पोहोरको तुलनामा एक सय ५० देखि दुई सय रूपैयाँसम्मले कमी आएको उनले बताए ।
सिमेन्ट कम्पनीहरूले दिएको जानकारी अनुसार पीपीसी सिमेन्ट अहिले बोरा (५० केजी) को ६ सयदेखि सात सय रूपैयाँसम्ममा आउँछ । ओपीसी मूल्य बोराको सात सयदेखि नौ सय रूपैयाँसम्म छ । निर्माणको सिजन अझै गहिरिएपछि सिमेन्टको मूल्य बोरामा २० देखि ३० रूपैयाँसम्म बढ्न सक्ने थापाको भनाइ छ । त्यसो हुँदा पनि गत वर्षको भन्दा यसपालि सिमेन्ट सस्तो नै हुने उनले बताए ।
स्वदेशी उद्योगहरूबीच क्लिंकरमा मूल्य प्रतिस्पर्धा र सिमेन्टको माग कम भएकाले पनि अहिले सस्तिएको उद्योगीहरूको भनाइ छ । उत्पादनमा आत्मनिर्भर भइसकेकाले अहिले भारतीय सीमानिकट साना उद्योगहरुलाई अपवाद मान्ने हो भने क्लिंकर आयात बन्द नै भइसकेको छ । होङ्सी शिवमले ठूलो परिमाणमा क्लिंकर उत्पादन थालेयता नै बढेको मूल्य प्रतिस्पर्धाले अहिले क्लिंकरको भाउ टनको साढे ८ हजारबाट साढे ७ हजारमा झरिसकेको छ ।
घर बनाउन प्रयोग हुने फलामे डन्डी पनि ६ महिनाअघिको तुलनामा यतिबेला सस्तो भएको छ । काठमाडौंको गोकर्णेश्वरस्थित राजेश हार्डवेयरको शाखाले दिएको जानकारीअनुसार अहिले बजारमा डन्डी ७१ देखि ७६ रूपैयाँ प्रतिकिलोमा पाइन्छ । जबकि ६ महिनाअघि डन्डीको मूल्य प्रतिकिलो ७४.२५ रुपैयाँदेखि ८०.५० रुपैयाँसम्म रहेको थियो । बिक्रेताहरुका अनुसार डन्डीको मूल्य पछिल्लो महिनामा मात्र एक किलोमै एकदेखि दुई रूपैयाँसम्म सस्तिएको छ । नयाँ डन्डी उत्पादनमा पनि नयाँ उद्योगहरु आउने तथा पुरानाले उत्पादन क्षमता बढाउने क्रममा रहेकाले बजारमा तीव्र प्रतिस्पर्धाका कारण मूल्य घटेको व्यापारीहरूको भनाइ छ ।
यस्तै, बालुवा, रोडा र ढुंगाको भाउ पनि ६ महिनायता घटेको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा प्रतिटिपर करिब पाँच सयदेखि हजार रूपैयाँले घटेको बिक्रेता र डिपोका सञ्चालकहरूले बताएका छन् । अहिले ढुंगा प्रतिटिपर १६ हजार रूपैयाँसम्म पर्छ भने बालुवा २७ हजार र रोडा २४ हजार ५ सय रूपैयाँमा पाउन सकिने व्यापारीहरुले बताए । ढुवानी खर्चमा आएको कमीले पनि गिटी-बालुवाको भाउ घटेको उनीहरूले बताए ।
अन्य निर्माण सामग्रीहरुको मूल्य घटिरहँदा बजारमा इँटा तथा काठको भाउ भने स्थिर छ । मूल्य नघटे पनि स्थिर रहँदा घर बनाउने योजना बनाइरहेका उपभोक्ताका लागि भने अहिले राहतको अवस्था छ ।
पछिल्लो तीन/चार महिनायता बजारमा इँटाको मूल्यमा परिवर्तन आएको छैन । उपत्यकामा अहिले एक नम्बर लोकल इँटाको मूल्य गोटाको १४ देखि १६ रूपैयाँसम्म रहेको पाइएको छ । यस्तै, दुई नम्बर इँटाको मूल्य एक नम्बरभन्दा गोटामा साढे २ रूपैयाँले कम पर्ने देखिएको छ । दुई नम्बर इँटाको प्रतिहजार ११ हजार ५ सयदेखि १३ हजार ५ सय रूपैयाँसम्म पर्ने महेश्वरी इँटा भट्टाका सञ्चालक राजाराम हिसुतीले बताए ।
केही महिना अघिसम्म गोटाको २२ रूपैयाँसम्म पुगेको एक नम्बर चाइनिज इँटाको मूल्य भने अहिले करिब २ रूपैयाँले सस्तिएको छ । एक नम्बर चिनियाँ इँटाको अहिले प्रतिहजार १९ हजार ७ सय ७५ रूपैयाँसम्म र दुई नम्बरको १६ हजार ९ सय ५० रूपैयाँ रहेको भक्तपुर इँटा तथा टायल उद्योग प्रालिका वित्त व्यवस्थापक रवीन्द्र किबानायोले बताए । उनकाअनुसार इँटाको मूल्य हरेक ६ महिनामा समायोजन हुने गरेको छ ।
यस्तै, काठको मूल्य पनि घटबढ नभएको व्यवसायीले बताएका छन् । बजारमा सालको काठ प्रतिक्यूविक फीट साढे पाँच हजार रूपैयाँ, सल्लोको प्रतिक्यूफीट १६ सयदेखि २२ सय रूपैयाँ र साजको काठ प्रतिक्यूफीट ३५ सय रूपैयाँसम्म छ । जिल्ला वन कार्यालयले काठको मूल्यमा कुनै हेरफेर नगरेको र राजस्व पनि वृद्धि नगरेकाले मूल्य घटबढ नभएको व्यवसायीहरूको भनाइ छ ।