नेपालगञ्ज २९ मंसिर – नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले लाखौका बिलासी गाडी चढ्ने जनप्रतिनिधिले आफ्नो क्षेत्रका नागरिकको जिवनस्तर कस्तो छ भनेर एकपटक सोच्नुपर्ने बताएका छन् । जनप्रतिनिधिमा सुविधाभोगी प्रबृत्ती बढ्ेको जनगुनासो आइरहेका बेला राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका क्षेत्रीले ‘नागरिकको जिवनस्तरलाई वेवास्ता गरेर जनप्रतिनिधि बिलासी बन्ने कुरा स्वीकार गर्न नसकिने’ स्पष्ट पारे । राज्यको करलाई बिलासीतामा उडाउने माथि प्रश्न गर्न पनि क्षेत्रीले आग्रह गरेका छन् ।
‘सामुहिक स्वार्थको भावना सहित अगाडी बढ्न सक्नुपर्छ । लोभ,लालच राखेर अगाडी बढ्ने काम भयो भने त्यसले परिवर्तनलाई संस्थागत गर्दैन ।’ आर्थिक पत्रकार समाजले आईतवार नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रियामा क्षेत्रीले भने –‘जनप्रतिनिधिले अरुका लागि उदाहरणीय काम गर्न सक्नुपर्छ ।’ बिलासी बन्न खोज्ने जनप्रतिनिधिलाई मतदाताले कर्के नजरले हेर्नुपर्नेमा क्षेत्रीले जोड दिएका छन् ।
उनले कम कबोल गरेर ठेक्का पाउन कानूनी व्यवस्थाले निर्माण क्षेत्रमा समस्या उब्जाएको बताएका छन् । पहिले काम गर्नेलाई ठेक्का दिनुपर्नेमा कम कबोल गर्नेलाई ठेक्का दिदा काम समयमा सम्पन्न नभएको बताउँदै क्षेत्रीले यस्ता कानुनी व्यवस्थाका बारेमा सोच्नुपर्ने उल्लेख गरेका छन् । क्षेत्रीले वडास्तरको कामलाई निगरानी गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रियामा बोल्दै पूर्व सह–सचिव पुरुषोत्तम नेपालले स्थानीय तहले बनाउनुपर्ने नियमावली नबनाए र केन्द्रकै नियमावली हेरेर काम चलाइरहेको बताएका छन् । जनप्रतिनिधि समेत सहभागि उक्त अन्तरक्रियामा नेपालले भने,–‘स्थानीय तहले बनाउनुपर्ने खरिद, उपभोक्ता व्यवस्थापन, आर्थिक जस्ता नियमावली बनाएका हुँदैन । केन्द्रकै भर पर्नाले पनि समस्या भएको छ ।’ कार्यक्रममा सहभागि भएका जनप्रतिनिधिले पनि आवश्यक नियमावली नबनाएको बताएका थिए ।
पूर्व सहसचिव नेपालले जनप्रतिनिधिले पूर्वाधार विकासमा मात्र ध्यान दिएर शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रले बिर्सिन नपाउने स्पष्ट पारेका छन् । जनप्रतिनिधिलाई उनले भने,–‘स्कुल नभएर दुःख पाएकाहरु अदालतमा गए भने तपाईलाई स्कुल बनाउन आदेश आउन सक्छ । त्यसैले एउटै क्षेत्र मात्र होइन समानुपातिक विकासमा ध्यान दिनुहोस् ।’ पूर्व सहसचिव नेपालसंग जनप्रतिनिधिले कयौं कानूनी बिषयमा जिज्ञासा राखेका थिए ।
स्थानीय तहको बजेटलाई पारदर्शी बनाउन र बजेटका प्रक्रियामा बढि भन्दा बढि जनताको सहभागिताका लागि प्रोत्साहन गर्न आर्थिक पत्रकार समाजले अन्तरक्रिया गरेको अध्यक्ष भिम गौतमले बताए । असारमा समेत समाजले नेपालगञ्जमा कार्यक्रम गरेको थियो । कार्यक्रममा समाजका पूर्व अध्यक्ष पुष्पराज आचार्य, कृष्ण आचार्य लगायतको सहभागिता रहेको थियो ।