धान फौजि किराले खायो, तोरी र महसुरो बाढीले


नेपालगञ्ज ३० मंसिर – कृषिमा निर्भर बाँके खजुरा गाउँपालिका–२ सीतापुरका कृषक यसपटक दोहोरो मारमा परे । वर्षायाममा लगाएको धान फौजी किराले खायो । हिउँदमा लगाएको तोरी,चना मसुरो र तरकारीबाली बाढी र असिनाले क्षती पुर्याएको छ । ‘यसपटक धान खेतमै सड्यो । घरसम्म ल्याउन पाइएन ।’ स्थानीय कृषक बिक्रम खरेल भन्छन्–‘हिउँदे बालीको अवस्था त झन् खराव भयो ।’

केही दिन अघि आएको पानीका कारण स्थानीय किरण खोलामा बाढी आयो । उक्त बाढी खेतमा पसेपछि तोरी,चना मसुरो बगाइदिएको हो । सोही दिन परेको असिनाले आलु लगायतको तरकारी नष्ट गरिदिएको खरेल बताउँछन् । उनी भन्छन्,–‘यसपाली हामीलाई किसानी फापेन ।’

खजुरा २ कै अगुवा कृषक लालबहादुर खत्रीको तरकारी लगायत नष्ट भएको छ । स्थानीय कयौं कृषकको अन्नवाली र तरकारी नष्ट भएपछि राहातको पर्खाइमा छन् । कृषकहरु यिनै अन्नबालीबाट निर्भर थिए । धानदेखि हिउँदेबालीसम्म नफापेपछि उनीहरु निरास भएका छन् ।

प्रकाशित मितिः     ३० मंसिर २०७६, सोमबार ०७:२५  |