नेपालगञ्ज ३० मंसिर – उमेरले २६ कटेका सुरज भण्डारीले नेपकिन र केमिकल बनाउने बिएस उद्योग हाँकिरहेका छन् । उनको उद्योगमा सात जनाले रोजगारी पाएका छन् । व्यापारमा राम्रै जमेका यि युवा उद्यमी भने साँझ पर्ने वित्तिकै नेपालगन्जको कारकादोचोकमा ठेलामा नास्ता बेच्दै गरेको भेटिन्छन् । साथ छन् कृष्णप्रसाद दाहाल र ऋषीराम डुम्रे । दाहाल गुडलाईफ वेभरेजको राप्ती,भेरी र कर्णाली अन्चल हेर्ने प्रबन्धक हुन । डुम्रेको धम्वोझीमा राम्रै चलेको नास्ता पसल छ ।
आ–आफ्नो क्षेत्रमा राम्रै जमेका यि तीन जनालाई नपुग्दो केही छैन् । पैसा कमाउन ठेलामा नास्ता बेच्नुपर्ने बाध्यता पनि होइन । कारण छ, युवा जमातलाई स्वदेशमै इलम गर्न सिकाउने र त्यसरी आर्जन गरेको पैसाले दिन,दुःखीलाई सहायता गर्ने ! यही उदेश्य बोकेर उनीहरुले कारकादोचोकमा सेवा नास्ता घर खोलेका हुन, एउटा ठेला भाडामा लिएर ।
‘आ–आफ्नो अफिसियल काम सके पछि हामी साँझ फुर्सदमै हुन्छौ । कोही घुम्न जान्छौ होला त कोही त्यसै टाइमपास गरेर बस्छौ ।’ भण्डारी भन्छन्–‘हो, त्यो समयमा केही न केही नयाँ काम गरौ न भन्ने लाग्यो । अनि यो नास्ता पसल शुरु गरेका हौं ।’ चिया पसलमा चियाको चुस्की लिदै बनेको उनीहरुको योजना अहिले कार्यान्वनमा छ । दाहाल भन्छन्,–‘अब त नियमित ग्राहक बन्न लागिसकेका छन् । गज्जव गर्नुभयो भनेर प्रोत्साहन गरिरहनुभएको छ ।’
सेवा खाजा घर साँझ पाँच बजेपछि शुरु हुन्छ । राती नौ बजेसम्म चल्छ । आलोपालो गरे यि तीनै जनाले नास्ता बनाउँछन् । एक जनालाई रोजगारी दिएका छन् । डुम्रे भन्छन्,–‘साँझ बेकारमा बस्नु भन्दा यता आएर सेवामुलक काममा लाग्दा आनन्द लाग्छ ।’ सेवा खाजा घरमा अहिले माछा र मासुको परिकार पाईन्छ । उनीहरुले बिक्री वापतको पाँच प्रतिशत मुनाफा असहायलाई दिने घोषणा नै गरिसकेका छन् । दश प्रतिशत रकम काममा खटाइएका युवालाई दिन्छन् ।
सेवा खाजा घरको ठेलाको बोर्डमा ‘गरे के हुन्न ? बिदेश किन ? स्वदेशमै छ नी ?’ भन्ने जस्ता नारा लेखेका छन् । यस्ता नारा लेख्नुको कारण खुलाउँदै भण्डारी भन्छन्,–‘काम गर्न लगाउने स्वभाव छ हाम्रो । सानो होस् चाहे ठुलो ! इलम गर्न लजाउनुभएन भने यो लेखेका हौं ।’ यो समूहले सेवामुलक यस्ता खाजा घर अझै बढाउने योजना बनाएको छ । जसबाट असहायको सेवा गर्न सकियोस र इलम गर्न हिचकिचाउनेलाई प्रोत्साहन मिलोस् ।