बुटवल – प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन सोमबार प्रदेश सभासचिवालयमा बुझाको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेर आज विहान ११ बजे सचिवालयका सचिव दुर्लभ बहादुर पुन र उप सभामुख कृष्णी थारुलाई बुझाएको समितिका संयोजक दिपेन्द्र पुनले बताए ।
विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रदेशको राजधानीका लागि विभिन्न तीन ठाउँ र नामाकरणका लागि दुईवटा नाम प्रस्तावका लागि सिफारिस गरिएको भन्ने आएपनि आधिकारीक नभएको विशेष समिति संयोजक पुनले बताए । ‘हामीले प्रतिवेदनका बारेमा कुनै पनि कुरा खुलाएका छैनौं ।’–ग्लोबल आवाजसँग कुराकानी गर्दै पुनले भने ‘बाहीर आएको हल्लाहरु सञ्चार माध्यमहरुमा कसरी आए हामीलाई जानकारी छैन ।’ प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा भने स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेका कुराहरु बाहिर आएका छन् ।
सिफारिस समितिको प्रतिवदेनको सम्पुर्ण विवरण सदन खुलेपछि बाहिर आउने छ । आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । झण्डै तीन महिना अघि अन्त्य भएको अधिवेशन प्रदेश सरकारले अझै आह्वान गरेको छैन । प्रतिवेदन प्रदेशसभाको आगामी अधिवेशनमा प्रस्तुत हुनेछ । मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको राजधानी दाङ हुनुपर्ने अडानमा छन् । नेकपाका महासचिव विष्णु पौडेल बुटवल नै स्थायी राजधानी हुनुुपर्ने अडानमा छन् । राजधानीका बारेमा मुख्यमन्त्री र नेकपा महासचिवबीचको विवादकै कारण टुंगो लाग्न नसकेको धेरैको बुझाइ छ ।
दुई वर्ष पुग्न लाग्दासमेत सरकारले स्थायी राजधानी टुङ्गो लगाउन नसकेको भन्दै प्रदेश सरकार र प्रदेशसभा आलोचित बनेको थियो । प्रदेशसभाद्वारा गठित समितिले जिल्ला जिल्लामा पुगेर सुझाव समेत संकलन गरेको थियो भने पछिल्लो समितिका सदस्यहरु अध्ययनका लागि भन्दै भारत भ्रमणमा समेत गएका थिए ।