नेपालगञ्ज, १ पुस । नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख समेत रहेका नगर समितिका अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले परियोजना अन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गर्ने निर्णय गरेको छ ।
यसैगरी वाटरपार्कको जग्गा बिक्रि वितरणका लागि मुल्य निर्धारण गर्न नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा मुल्य निर्धारण समिति गठन गरेको छ । यसैगरी बैठकले न्यूरोड सदरलाईनको जग्गा बिक्रिका लागि सूचना निकाल्ने निर्णय गरेको समितिका सदस्य तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले जानकारी दिए ।
लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको ‘वाटरपार्क’ निर्माणको काम अहिले धमाधम भइरहेको छ “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुङ्गा साबित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका—१ का वडाध्यक्ष प्रमोद रिजालको भनाइ छ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रूपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, बाल उद्यान, व्यावसायिक प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण हुनेछन् । “कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरूप नै फेरिन्छ, यहाँ हाम्रो व्यापार बढ्छ, हाम्रो जीवनस्तर पनि फेरिन्छ”, स्थानीयवासी रघुवीर मिश्रले भने।
हुन पनि स्थानीयवासी मिश्रले भने जस्तै वाटरपार्क निर्माणको ‘डिजाइन’ पनि त्यसैगरी भएको छ । नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ । नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो ।
अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । “यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले भने। नगर विकास समितिले अहिले वाटर पार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । केही दिनभित्र जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताए ।
वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार घरसंरचना निर्माण गर्नुपर्ने जनाइएको छ । पश्चिम नेपालकै नमूनाका रूपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ ।
वाटरपार्क संरचनाअन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, आर्थिक विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पुर्याउन वाटरपार्क योजना जति सकेको छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु एकमत छन् ।