बाँकेमा आतिशवाजी सहित भव्य सांस्कृतिक कार्यक्रमले भ्रमण वर्षको स्वागत गरिदै


नेपालगञ्ज १ पुस – प्रदेश नं. ५ भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम बाँके र बर्दियामा गरिदैछ । मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा हुने भब्य कार्यक्रममा प्रदेशका बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ । आयोजकले त्यसको तयारी तिव्ररुपमा गरिरहेका छन् ।

बाँकेको नेपालगञ्जमा भ्रमणवर्षको पूर्वसन्ध्या अर्थात अघिल्लो दिन आतिशवाजी सहित भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जिल्ला स्तरीय पर्यटन प्रर्बधन समितिका संयोजक अजय श्रीवास्तवले बताएका छन् । उक्त कार्यक्रम नेपालगञ्जस्थित होटल सिद्धार्थ भ्यू परिसरमा हुनेछ । भ्रमण वर्षका् उद्घाटनका लागि आउने मुख्यमन्त्री पोख्रेल लगायतको पाहुना टोलीलाई सोही होटलमा स्वागत गरिने छ ।

त्यहाँ सांस्कृतिक कार्यक्रम सहित रातको ठिक १२ बजे सबै लाईट बन्द गरेर आतिशवाजी गर्ने तयारी भइरहेको जिल्ला स्तरीय पर्यटन प्रर्बधन समितिका सदस्य केशव न्यौपानेले बताए । उनले भने,–‘ठिक १२ बजे गरिने आतिशवाजीले भ्रमण वर्षको स्वागत गर्नेछ ।’ उक्त कार्यक्रम समापन पछि अर्को दिन जनवरी १ अर्थात भ्रमण वर्षको सुरुवात हुने छ । बिहान मुख्यमन्त्री लगायतको टोली देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीको औपचारिक उद्घाटनका लागि जाने छन् ।

बाघ संरक्षणका लागि तयार गरिएको उक्त राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीको उद्घाटन संगै देशबिदेशका पर्यटकलाई आमन्त्रण गरिने प्रदेश स्तरीय पर्यटन प्रर्बधन समितिका सदस्य कृष्ण चौधरीले बताए । त्यहाँ उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि उक्त टोली भ्रमण वर्ष शुभारम्भ कार्यक्रम उद्घाटन गर्न बर्दियाको ठाकुरद्धारा जाने छन् ।

प्रकाशित मितिः     १ पुष २०७६, मंगलवार ०९:४९  |