जमुना र जानकी बनिन् कर्णालीको पहिलो खातावाला छोरी


तस्बिर सौजन्य:, पत्रकार देविराम देवकोटा/कालिकोट

नेपालगञ्ज १ पुस – कर्णाली सरकारले आज मंगलवारदेखि प्रदेशमा ‘बैंक खाता छोरीको,सुरक्षा जीवन भरिको’ अभियान शुरु गरेको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले अभियानको उद्घाटन गरे । कालिकोट खाडाचक्र नगरपालिका १ की डेढ महिनाकी जमुना सुनार र सोही पालिका २ कि साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंक खाता खोलेर अभियान शुरु भएको हो ।

कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको ब्यालेन्ससहितको बैंक खाता खोल्ने अभियान १ पुसबाट शुभारम्भ गरेको हो । चालु आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रमका लागि कार्य्विधि स्वीकृत गरेसँगै कार्यान्वयनको बाटो खुलेको हो ।

कार्य्विधि अनुसार १ साउन २०७६ यता जन्मिएका छोरीलाई सरकारले यस कार्यक्रममा आवद्ध गराइने छ । यो कार्यक्रम कालिकोटबाट सुरु भएर प्रदेशभर लागु गरिने प्रदेश सरकारले जनाएको छ । यसका लागि बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् । आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित संघ–संस्था वा संरक्षकले छोरीको खाता खोलिदिनु पर्ने गरी कार्य्विधि बनाइएको छ ।

यो सुविधा एक दम्पत्तीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने संख्याको सीमा राखिएको छैन । मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशमा छोरीहरु माथि हुने असमान व्यवहार हटाउने यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा कर्णाली सरकारको छ । १ साउनयता जन्मिएका छोरीका अभिभावकले स्थानीय तहमा निवेदन दिएपछि सम्बन्धित स्थानीय तहले प्राप्त निवेदन र कागजातको जाँचबुझ गरी सेवा प्रदायक संस्था ९कर्णाली प्रदेश अन्तरर्गत स्थानीय तहमा शाखा कार्यालय रहेको वाणिज्य बैंक वा स्थानीय तहले बैंकिङ कारोबार गरिरहेको बैंक० मा सिफारिस गर्नुपर्ने प्रावधान बनाइएको छ ।

प्रकाशित मितिः     १ पुष २०७६, मंगलवार १३:४७  |