कर्णालीका होटलमा लगानी थप्ने उत्साह


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ठुला होटल खुल्ने क्रम बढेको छ । होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णालीमा पर्यटकीय चहलपहल बढ्दै गएकाले लगानीको वातावरण सिर्जना भएको बताए ।

शाहीकाअनुसार सुर्खेत प्रदेश राजधानी एवं कर्णालीको प्रवेशद्वार हुनु, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालन हुनु, भेरी–बबई डाइर्भसन, मध्यपहाडी, मदन भण्डारी राजमार्गजस्ता लगायतका ठूला आयोजनाको निर्माणले यहाँ सुविधासम्पन्न होटल खुल्ने अवस्था निम्तिएको हो ।
सुर्खेतको वीरेन्द्रनगरका सिद्धार्थ र शुभ दुई ठूला होटल हुन् ।

सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आफ्नो १२औँ शाखाका रूपमा विसं २०७२ वैशाखदेखि सुर्खेतबाट सेवा प्रारम्भ ग¥यो । शुरुमा रु १६ करोडको लगानी रहेको मूलपानीस्थित तत्कालीन शनी रिसोर्टमा रु पाँच करोड लगानी थप गरेर रु २१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सञ्चालन गरेको हो ।

विसं २०७३ चैत मसान्तबाट रु २७ करोडको लगानीमा जुम्ला रोडमा शुभ होटल सञ्चालनमा आयो । शुभ होटलका सञ्चालक पदमबहादुर शाहीले रारा र कैलाश मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर ६० डिलक्स रुम, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाहमण्डप, लिफ्टलगायतका सुविधासहित अपाङ्गमैत्री संरचना निर्माण गरेको जानकारी दिए।

सुर्खेतको गढी सिद्धपाइला पर्यटकीय स्थान हो । जहाँबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । सिद्धपाइलामा विसं २०७४ माघदेखि रु छ करोड बढीको लागतमा होटल स्टे भ्याली भ्यू सञ्चालनमा आयो । कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर वीरेन्द्रनगरदेखि करीब नौ किमी उत्तरमा होटल सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै रु चार करोड ८५ लाखको लागतमा विसं २०७४ देखि चर्चित पर्यटकीयस्थल बुलबुले उद्यानको प्रवेशद्वार नजिकै बुलबुले भ्यू होटल सञ्चालनमा आएको छ । होटलका सञ्चालकसमेत रहनुभएका सुर्खेत होटल व्यवसायी महासङ्घका महासचिव जनकसिंह ठकुरीले प्रदेशस्तरीय कार्यक्रम, रारा जाने पर्यटक र अग्र्या्निक खानालाई मुख्य आधार बनाएको बताए ।

सुर्खेतमा साना–ठूला गरी एक हजार ४४३ होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । होटल व्यवसायी सङ्घ सुर्खेतमा आवद्धमध्ये नौ होटल–रेष्टुराँलाई स्तरीय भनी वर्गीकरण गरिएको छ । जसमध्ये होटल भ्याली भ्यू, नमस्ते नेपाल, जियाना रेष्टुरेन्ट, शुभ होटल, बुलबुले भ्यू होटल, होटल एयाम प्लाजा, चकटी लाउन्ज र सिद्वार्थ शनी रिसोर्ट ‘क’ श्रेणीमा छन् ।

त्यस्तै, ५६ वटा होटल तथा रेष्टुराँ ‘ख’ श्रेणीका छन् । जसमध्ये सम्राट गेष्टहाउस, पुरानो माछापुच्छ«े होटल, दर्शन होटल रेष्टुरेन्ट एण्ड लजलगायतका छन् । बाँकी एक हजार ३७९ होटल तथा रेष्टुरेन्ट ‘ग’ वर्गमा पर्ने होटल व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः     ५ पुष २०७६, शनिबार १५:४९  |