कर्णालीका मुख्यमन्त्रीले गरिवलाई निःशुल्क मिटर वितरण गर्न कुलमान घिसिङसंग आग्रह गरे


नेपालगञ्ज ५ पुस – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग गरिव परिवारलाई निःशुल्क मिटर जडान गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । शनिवार सुर्खेत पुगेका घिसिङ्गसंग शाहीले यस्तो आग्रह गरेका हुन ।

मुख्यमन्त्रीले भेटघाटमा कर्णालीमा राष्ट्रिय विद्युत प्रशारण लाईन यथाशिघ्र विस्तार गर्न, कोहलपुर सुर्खेत प्रशारण लाईनको १३२ केभिए क्षमतामा स्तरोन्नति गर्न घिसिङ्गको ध्यानार्कषण गराएका छन् । घिसिङ्गले कर्णालीको बिद्युत व्यवस्थापनमा तदारुकता देखाउने प्रतिबद्धता जनाएका थिए । छलफलमा मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए।

घिसिङले कर्णाली प्रदेश राजधानी सुर्खेत पुगेर कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
वितरण केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाउन बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउँदै उनले वित्तीय अनुशासनमा रहेर कार्यालयको खर्चमा मितव्ययी बन्न, जथाभावी रुपमा सामान खरिद नगर्न केन्द्र, लेखा र स्टोर प्रमुखलाई निर्देशन दिए ।

नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई कर्णालीे प्रदेश डिभिजन कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्रकाशित मितिः     ५ पुष २०७६, शनिबार २०:११  |