गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक धनीकुमारी खत्रीमाथी कार्यकक्षभित्रै भएको घटनालाई गम्भिरता पुर्वक लिदै कानुनी कारबाही प्रक्रिया अगाडी बढाउने राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
स्थानीय निर्माण ब्यवसायी (ठेकेदार) मानबहादुर खड्का शुक्रबार उपाध्यक्ष खत्रीको कार्यकक्षमै प्रवेश गरी जवरजस्ती हस्ताक्षर गर्न दवाव दिदै अभद्र ब्यवहार प्रर्दशन गरेको घटनाप्रति बैठकले दुःख ब्यक्त समेत गरेको छ । आफुले हस्ताक्षर गर्न नमानेकै कारण डरधम्की दिएर आफ्नो कार्यकक्ष भित्रको टेबुल ठोक्ने र पल्टाउनुका साथै कार्यालय परिसरमा राखिएका गमला फुटाईदिएको उपाध्यक्ष खत्रीले बैठकमा जानकारी गराएकी थिइन ।
गाउँपालिकाको आईतबार(आज) बसेको कार्यपालिका बैठकले उक्त घटनाको दुःख ब्यक्त गर्दै छानविन गरी दोषीमाथी कानुनी कारबाही अगाडी बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीले बताए । ‘उपाध्यक्ष ज्युमाथी भएको घटनाको सम्बन्धमा छानविन गरेर कानुनी कारबाही अगाडी बढाउने बैठकले निर्णय गरेको छ,’ उनले भने । कानुनी प्रक्रिया अगाडी बढाउन गाउँपालिकाका कानुनी सल्लाहकारलाई जिम्मा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माझीले बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा ठेकेदार खड्काले निर्माण गरेको कालोपत्रे सडक अनुगमन गरेपनि कामको गुणस्तर राम्रो नभएको र स्थानीय स्तरबाट पनि कालोपत्रेको गुणस्तरप्रति प्रश्न उठेपछि हस्ताक्षर गर्न नसक्ने उपाध्यक्षले जवाफ दिनु भएको थियो । आफुले हस्ताक्षर गर्न नमान्दा कार्यालयमै आएर ठेकेदारले गुण्डागर्दी शैलीमा उक्त घटना गराएको उपाध्यक्ष खत्रीले बताए । ‘कालोपत्रे सडक अनुगमन गर्दा कामको गुणस्तर राम्रो देखिएन, स्थानीय जनताबाट पनि काम राम्रो छैन भनेर गुनासो आयो, त्यसपछि मैले आफु फस्ने गरी हस्ताक्षर गर्न सकिँन, अनि ठेकेदारले म कहाँ आएर धम्क्याउँदै अभद्र ब्यवहार प्रर्दशन देखाए,’ उनले भनिन् ।
आफुलाई धम्क्याएर हस्ताक्षर गर्न बाध्य पार्ने नियतले ठेकेदारले यो घटना गराएको भन्दै उपाध्यक्ष खत्रीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कानुनी कारबाहीमा जानु परेको बताइन । उनले भनिन्, ‘यो घटनाले मलाई अत्यन्त दुखी बनाएको छ, हामी जनप्रतिनिधीले निस्वार्थ हिसाबले जनताको काम गरिरहेका छौं, जनतालाई न्याय दिने हामी जनप्रतिनिधी आफै असुरक्षित भएर कसरी काम गर्न सक्छौं र ?’