उपाध्यक्ष माथी अभद्र व्यवहार गर्ने ठेकेदार बिरुद्ध कानूनी उपचार खोजिने


गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक धनीकुमारी खत्रीमाथी कार्यकक्षभित्रै भएको घटनालाई गम्भिरता पुर्वक लिदै कानुनी कारबाही प्रक्रिया अगाडी बढाउने राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।

स्थानीय निर्माण ब्यवसायी  (ठेकेदार) मानबहादुर खड्का शुक्रबार उपाध्यक्ष खत्रीको कार्यकक्षमै प्रवेश गरी जवरजस्ती हस्ताक्षर गर्न दवाव दिदै अभद्र ब्यवहार प्रर्दशन गरेको घटनाप्रति बैठकले दुःख ब्यक्त समेत गरेको छ । आफुले हस्ताक्षर गर्न नमानेकै कारण डरधम्की दिएर आफ्नो कार्यकक्ष भित्रको टेबुल ठोक्ने र पल्टाउनुका साथै कार्यालय परिसरमा राखिएका गमला फुटाईदिएको उपाध्यक्ष खत्रीले बैठकमा जानकारी गराएकी थिइन ।

गाउँपालिकाको आईतबार(आज) बसेको कार्यपालिका बैठकले उक्त घटनाको दुःख ब्यक्त गर्दै छानविन गरी दोषीमाथी कानुनी कारबाही अगाडी बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीले बताए । ‘उपाध्यक्ष ज्युमाथी भएको घटनाको सम्बन्धमा छानविन गरेर कानुनी कारबाही अगाडी बढाउने बैठकले निर्णय गरेको छ,’ उनले भने । कानुनी प्रक्रिया अगाडी बढाउन गाउँपालिकाका कानुनी सल्लाहकारलाई जिम्मा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माझीले बताए ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा ठेकेदार खड्काले निर्माण गरेको कालोपत्रे सडक अनुगमन गरेपनि कामको गुणस्तर राम्रो नभएको र स्थानीय स्तरबाट पनि कालोपत्रेको गुणस्तरप्रति प्रश्न उठेपछि हस्ताक्षर गर्न नसक्ने उपाध्यक्षले जवाफ दिनु भएको थियो । आफुले हस्ताक्षर गर्न नमान्दा कार्यालयमै आएर ठेकेदारले गुण्डागर्दी शैलीमा उक्त घटना गराएको उपाध्यक्ष खत्रीले बताए । ‘कालोपत्रे सडक अनुगमन गर्दा कामको गुणस्तर राम्रो देखिएन, स्थानीय जनताबाट पनि काम राम्रो छैन भनेर गुनासो आयो, त्यसपछि मैले आफु फस्ने गरी हस्ताक्षर गर्न सकिँन, अनि ठेकेदारले म कहाँ आएर धम्क्याउँदै अभद्र ब्यवहार प्रर्दशन देखाए,’ उनले भनिन् ।

आफुलाई धम्क्याएर हस्ताक्षर गर्न बाध्य पार्ने नियतले ठेकेदारले यो घटना गराएको भन्दै उपाध्यक्ष खत्रीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कानुनी कारबाहीमा जानु परेको बताइन । उनले भनिन्, ‘यो घटनाले मलाई अत्यन्त दुखी बनाएको छ, हामी जनप्रतिनिधीले निस्वार्थ हिसाबले जनताको काम गरिरहेका छौं, जनतालाई न्याय दिने हामी जनप्रतिनिधी आफै असुरक्षित भएर कसरी काम गर्न सक्छौं र ?’

प्रकाशित मितिः     ६ पुष २०७६, आईतवार १४:४३  |