नेपालगन्ज-नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, राजस्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई नेपालगन्ज र अत्तरिया कार्यालय मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनीन्द्र ठाकुरले आइतबार र प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सतिशकुमार कर्णले सोमबार कार्यसम्पादन सम्झौता गरेका हुन् । यसैगरी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग दुवै कार्यालय मातहतका वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरे ।
सम्झौताअनुसार नेपाल विद्युत् प्रधिकरणले प्रदेश ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमशः ८ दशमलव शून्य ५ र १० दशमलव ६९ प्रतिशतमा झार्ने भएको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष ९आव० २०७५–७६ मा रहेको १३ दशमलव ६९ प्रतिशत विद्युत् चुहावटलाई १० दशमलव ६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो । कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत् चुहावट ९.६२ प्रतिशत छ ।
कार्यालय मातहत सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १२ वितरण केन्द्रहरू छन् । प्राधिकरणको प्रणालीमार्फत् हालसम्म ६५ दशमलब ६५ प्रतिशत विद्युतीकरण भएको छ भने ग्राहक संख्या २ लाख ४१ हजार छ ।
यसैगरी प्राधिकरणले डिभिजन कार्यालय नेपालगन्जलाई गत आवमा १० दशमलब ६४ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा ८ दशमलव शून्य ५ प्रतिशतमा झार्ने लक्ष्य दिएको छ । चालु आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट १० दशमलब १९ प्रतिशत छ । कार्यालयअन्तर्गत ६ जिल्लाका १० वितरण केन्द्रमा ३ लाख १३ हजार ग्राहक छन् ।
कार्य सम्पादन सम्झौताको अवसरमा प्राधिकरणका सञ्चालक चेतराज जोशीले विभिन्न कारणले जीर्ण बनेका वितरणतर्फका प्रसारण तथा सबस्टेसनको निर्माण सम्पन्न गर्न, विद्युत् खपत बढाउन थ्रिफेज मिटर प्रयोगलाई प्रोत्साहन गर्न र विद्युतीकरणमा केन्द्रित हुन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई सार्वजनिक संस्थानमध्ये ‘उत्कृष्ठ नमुना’ संस्थाका रूपमा विकास गर्न वितरण केन्द्रहरू प्राधिकरणको अनुहार भएकाले सबै कर्मचारीले सुशासन कायम गर्दै पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताए ।
घिसिङले विश्वसनीय र भरपर्दो विद्युत् आपूर्ति जनताको अपेक्षा भएकाले यसलाई पूरा गर्न अनुशासित भएर ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन र विद्युतीकरणलाई अभियानकै रूपमा चलाउन निर्देशन दिए ।
प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं। १, २, ३, गण्डकी र कर्णालीका प्रादेशिक तथा प्रदेश नं। ३ को डिभिजन कार्यालय हेटौंडाका कार्यालयका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ । अब प्रदेश नं। ५ को प्रादेशिक कार्यालय बुटवल र मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्न बाँकी छ ।