बागेश्वरी मन्दिरमा आरती गर्न छलफल, खर्च व्यवस्थापन मुख्य चुनौती


नेपालगञ्ज ७ पुस – पश्चिम नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा आरती शुरु गर्न छलफल चलेको छ । सम्भव भएसम्म भ्रमण वर्ष २०२० बाट शुरु गर्ने बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिमा छलफल चलेको हो ।

गंगा आरतीका लागि जिल्ला स्तरीय पर्यटन प्रबद्र्धन समिति बाँकेले मन्दिर गुठी व्यवस्थापन समितिलाई पत्र लेखेको थियो । पत्र प्राप्त भएसंगै गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेपालगञ्जका मेयर धवल शम्सेर राणाले चासो प्रकट परेका छन् ।

बागेश्वरी मन्दिरमा आरती शुरु गर्न सके धार्मिक पर्यटक बढ्ने आशा गरिएको छ । धेरै पहिलेदेखि आरतीको चासो प्रकट भए पनि औपचारिकरुपमा शुरु हुन सकेको छैन । मेयर राणा गंगा आरतीका लागि सकारात्मक छन् । तर बजेटको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती देखिन्छ ।

‘छलफल चलेको छ । हामी केही दिनमै यस विषयमा ठोस निर्णय लिन्छौ ।’ मेयर राणाले भने–‘शुरु गरेपछि लामो समयसम्म कसरी चलाइ राख्ने र त्यसको बजेटको व्यवस्थापनका बारेमा छलफल हुन्छ ।’

छलफलका क्रममा स्वस्फुर्तरुपमा आरती गराउन चाहानेलाई आग्रह गर्ने विषयमा पनि कुरा उठेको छ । कसैले चाहेमा गुठी व्यवस्थापन समितिले तोकेको समयमा आरती गर्न सक्ने व्यवस्था मिलाउने की भन्ने विषयमा छलफल चलेको छ । साथै प्रत्येक दिन नसके पनि हप्तामा एकदिन आरती गराउने सम्भावनाका बारेमा पनि आन्तरिक तयारी भइरहेको छ ।

प्रकाशित मितिः     ७ पुष २०७६, सोमबार १८:०८  |