नेपालगञ्ज ८ पुस – स्थानीय कोष व्यवस्थापन प्रणाली ( सुत्र) मा प्राविधिक समस्या उत्पन्न भएको छ । उक्त समस्याका कारण मंसिर १२ गतेदेखि पुष ४ सम्मको तथ्यांक नष्ट भई कामकाज प्रभावित भएको महालेखा नियन्त्रण कार्यालयका उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले बताए ।
अब पुन पुराना तथ्यांकहरु सुत्र प्रणालीमा समावेश नगर्दासम्म स्थानीय तहको आर्थिक कारोवार प्रभावित हुने भएको बाँके जानकी गाउँपालिकाले जनाएको छ । सार्वजनिक सूचना नै जारी गरेर उक्त गाउँपालिकाले सुत्रमा नयाँ तथ्यांक समावेश नगर्दासम्म नयाँ आर्थिक कारोवार गर्न नसकिने स्पष्ट पारेको छ ।
यस्तो समस्या देशका सबै स्थानीय तहलाई परेको छ । महालेखा नियन्त्रण कार्यालयले स्थानीय तहलाई नष्ट भएका तथ्यांक पुन समावेश नगर्दासम्म स्थानीय तहबाट सरुवा भई अन्यत्र गएका लेखा समूहका कर्मचारीलाई रमाना दिन सर्कुलर जारी गरेको छ ।