नेपालगञ्ज ९ पुस – राष्ट्रिय वाणिज्य बैंक (रावा बैंक)का प्रदेश नंं. ५ का प्रमुख आनन्द सुवेदीले आफु मातहतका शाखा प्रबन्धकसंग कार्यसम्पादन सम्झौता गरेका छन् । बैंकको काम प्रभावकारी बनाउँदै सेवाग्राहीलाई उत्कृट सेवा प्रदान गर्ने मुख्य उदेश्य राखेर सुवेदीले प्रदेशमा नयाँ कामको थालनी गरेका हुन ।
बुधवार नेपालगञ्जको होटल गोल्डेन ब्लिजमा आयोजित एक कार्यक्रममा सुवेदीले नेपालगञ्ज, कोहलपुर, त्रिभुवनचोक, खजुरा, गुलरिया, भुरीगाउँ, बाँसगढी शाखाका प्रबन्धकसंग आर्थिक वर्ष २०७६/७७ का लागि कार्यसम्पादन सम्झौता गरे । उक्त अवसरमा सहायक शाखा प्रबन्धकको समेत उपस्थिती थियो ।
सुवेदीले कार्यसम्पादन सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न शाखा प्रबन्धकलाई निर्देशन दिएका छन् । ‘बैंकलाई उत्कृष्ट बनाउन अहिले पनि निरन्तर काम गरिरहनुभएको छ । अब अझ त्यसलाई प्रभावकारी बनाउने गरी लाग्नुहोला ।’– कार्यसम्पादन सम्झौता पछि सुवेदीले भने ।
रावा बैंकको प्रदेश ५ मा ३५ वटा शाखा छन् । यि सबै शाखा नेपालगञ्जमा हेर्ने गरिएको छ । यसअघि नेपालगञ्जको क्षेत्रीय कार्यालयले कर्णाली र सुदूरपश्चिम कार्यालय हेर्दै आएको थियो । प्रदेश नं. ५ मा पहिलो चरणमा बाँके र बर्दियाका शाखाका प्रबन्धकसंग कार्यसम्पादन सम्झौता भएको छ । अब छिट्टै अरु शाखामा पनि सम्झौता हुने सुवेदीले बताए ।
‘कार्यसम्पादन सम्झौताले हामी सबै कर्मचारीलाई थप जिम्मेवारीबोध गराउँछ । कामको प्रभावकारीता बढ्छ ।’– सुवेदी भन्छन्,–‘यसले बैंकलाई उत्कृष्ट बनाउँदै सेवाप्रवाहमा छिटोछरितोपना ल्याउने छ ।’ कार्यसम्पादन सम्झौताको अनुगमनलाई प्रभावकारी बनाइने सुवेदीले बताएका छन् ।
अहिले पनि नेपालगञ्ज प्रदेश कार्यालयले नियमनको काम गर्दै आएको छ । संयन्त्र मार्फत कार्यसम्पादन प्रभावकारी भए नभएको अनुगमन गरिने छ । त्यसरी अनुगमन गर्दा उक्त संयन्त्रले कामको प्रभावकारिता, समस्याका बिषयमा निरन्तर छलफल गर्ने छ ।