सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती


धनगढी, ८ पुस । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सहित संघीय सरकारले शुरु गर्न लागेको पर्यटन भ्रमण वर्ष २०२० शुरु हुन ६ दिन बाँकी छ । तर सुदूरपश्चिम प्रदेश सरकार पर्यटनलाई गाईड गर्न आफैले प्रकाशन गरेको व्युटिफल सुदूरपश्चिम नेपाल कफि टेबल बुकका गल्ती ढाकछोप गर्नमै व्यस्त छ ।

वन वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयले हतारमा बजेट सक्न प्रकाशन गरेको सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको गाईड बुकमा दर्जनौ गल्तीहरु भेटिएका छन् । पुस्तकमा समेटिएका न कुनै सूचना सही छन् । न त त्यसमा समेटिएका जानकारी नै सही छन् । जस्तो कि घोडाघोडी ताल धनगढीबाट ३ किमी पूर्वमा पर्छ भनेर लेखिएको छ । त्यति मात्र होईन, एयर क्राफ्ट म्युजियम शिर्षकमा दोधरा चाँदनीको झोलुंगे पुलको तस्वीर छ ।

पाताल भूमेश्वरको गुफाको बारेमा जानकारी दिईएकोमा तालको फोटो छ । र त्यो फोटो पनि पर्यटनकर्मी योगेन्द्र बमको फेसबुक वालबाट चोरेर राखिएको बमले गुनासो गरेका छन् । पर्यटन मन्त्रालयले प्रकाशन गरेको त्यो पुस्तकमा बैतडीको पाताल भूमेश्वर गुफा गोठलापानीमा पर्छ भनेर गलत जानकारी दिईएको छ । जवकी बैतडीकै माया भट्ट पर्यटन मन्त्री छन् ।

मन्त्रीकै जिल्लाका पर्यटकीय गन्तव्य रहेको स्थानका बारेमा दिईएको जानकारी गलत छ । र यो पुस्तक प्रकाशन गर्ने नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टको गृह जिल्ला बैतडी हो । तर बैतडीकै पर्यटकीय गन्तव्यको जानकारी र तस्वीर भ्रामक र त्रुटीपूर्ण छ ।

जाखौर ताललाई जाकोर ताल लेखिएको छ । हतारमा पैसा सक्न निकालिएको पुस्तकमा सूचना भने छदै छैन । फोटो तानेर पृष्ठ भरिएको छ ।

बिभिन्न व्यक्तिका फेसबुक र गुगलबाट तस्वीरहरु कपि गरेर पुस्तक भर्ने काम गरिएको छ ।
सुदूरपश्चिमका महत्वपूर्ण मन्दिरहरुका बारेमा लेखिएको जानकारी अपुरो,अधुरो र भ्रामक छ । जस्तो कि बैतडीको निङ्गलासैनी मन्दिरको शिर्षकमा डडेल्धुराको उग्रतारा मन्दिरको तस्वीर छ । यतिसम्म कि चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवरलाई समेत सुदूरपश्चिममा पर्छ भनेर लेखिएको छ । तर त्यसमा पनि फोटो राखेर झारो टारिएको छ । कुनै जानकारी भने दिइृएको छैन ।

सुदूरपश्चिमका महत्वपूर्ण होटलहरुमा आफ्ना रेष्टुरेण्टका नाम र फोटोहरु राखिएका छन् । तर राख्नु पर्ने होटलहरुको नाम राखिएको छैन । पुस्तक प्रकाशनका लागि सुदूरपश्चिम प्रदेश सरकार वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयबाट नाटा फारवेष्टले रकम लिएको थियो । नाटाले पुस्तक प्रकाशनका लागि किशोर खड्कालाई जिम्मेवारी दिएको बताइएको छ ।

खड्काले सुदूरपश्चिमका महत्वपूर्ण होटलहरुको सूचिमा चौराहामा रहेको आफ्नो रेष्टुरेण्ट खप्तड खाजा घर र रमण श्रेष्ठको खप्तड रेष्टुरेण्टको नाम र फोटो राखेका छन् । पुस्तकका बिभिन्न स्थानमा पनि खड्काकै फोटो समेटिएका छन् । खड्का र श्रेष्ठ भ्रमण वर्ष २०२० प्रचार प्रसार समितिका सदस्य हुन् ।

डोटीको बुडरमा रहेको पिपल चौतारी होटललाई मात्र डोटीको महत्वपूर्ण होटलहरुमा समाबेश गरिएको छ । तर पिपल्ला र सिलगढीमा रहेको होटलहरु भने सूचिमा अटाएका छैनन । दार्चुलाको एउटा होटलको नाम राखिएको छ । त्यसको फोटो पनि फेसबुक वालबाट कपि गरिएको छ । अरु महत्वपूर्ण होटलहरुको नाम समावेश छैन ।

डडेल्धुरामा रातो गुराँस होटल मात्र त्यो सूचिमा अटेको छ । तर डडेल्धुराका पुराना र नाम चलेका होटलहरु त्यो सूँचिमा छैनन । अछामको साँफेबगरको बुढी गंगा होटल त्यो सूँचिमा परेको छ । तर साँफेबगर र मंगलसैनका अरु होटललाई उपेक्षा गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा नाम चलेको पुरानो होटल न्यू आनन्द त्यो सूचिमा परेको छैन । तर कतिपय नामै नचलेका होटलहरु भने सुदूरपश्चिमको महत्वपूर्ण होटलका रुपमा समेटिएका छन् ।

बैतडी र बाजुराका होटलहरु यो सूचिमा समेटिएका छैनन । अझ रोचक कुरा त के भने त्यसमा समेटिएका अधिकांश होटलहरुको फोन नम्बर र इमेल ठेगाना नै सही नरहेको एक होटल व्यवसायीले बताए । रातारात पैसा सक्ने उद्देश्यले हतारमा तयार गरिएको यो पुस्तकले भ्रम मात्र छरेको कञ्चनपुरको न्यू आनन्द होटलका सञ्चालक परमानन्द भण्डारीले बताए ।

सुदूरपश्चिमका बिभिन्न जिल्लाका जाती र समुदायका नृत्य राखिएको छ । तर तीनका बारेमा कुनै जानकारी छैन । जस्तो कि थारु डान्स भनेर एउटा फोटो राखिएको छ । त्यो कुन नाँच हो, त्यसको महत्व के हो, केही कुरा पनि जानकारी दिईएको छैन । पुस्तक प्रकाशनमा कुन हदसम्म लापरबाही गरिएको छ भने शुक्लफाँटा नेशनल पार्कलाई शुक्लफाँटा नेशनल रिजर्भ भनेर लेखिएको छ । रिजर्भ र पार्कको अर्थ पनि छुट्याउन नसक्नु गम्भीर त्रुटी रहेको पर्यटन व्यवसायी भण्डारी बताउछन ।

पुस्तकमा टुर्स एण्ड ट्राभल्सको नाम र सूचि राखिएको छ । तर पहिलो नम्बरमा राखिएको एडभेन्चर वेष्ट होलिडेजको मोवाईल नम्बर र फोन नम्बर गलत राखिएको छ । चालु अवस्थामा रहेका कतिपय टुर्स एण्ड ट्राभल्सको नाम नियतबश छुटाईएको छ । तर वर्षौ पहिले बन्द रहेका टुर्स एण्ड ट्राभल्सको नाम भने व्यक्ति विशेषलाई खुशी पार्न राखिएको छ ।

सुदूर पश्चिम प्रदेश सरकार पर्यटन मन्त्रालयले प्रकाशन गरेको यो पुस्तक भने प्रकाशन पछि लुकाएको थियो । पर्यटन राज्यमन्त्री प्रकाश रावल हुदा प्रकाशन गरिएको यो पुस्तक उनी मन्त्रीबाट हटेपछि बाहिर ल्याएको हो । जसमा राज्यमन्त्री रावलको मन्तव्य पनि समेटिएको छ । मन्त्रालयले गल्ती ढाकछोप गर्न दुई ठाँउमा दोधरा चाँदनी र घोडाघोडीको तस्वीर माथि स्टिकर टाँसेको छ । तर त्यसले पनि गल्ती ढाकछोप गर्न सकेको छैन ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले निकालेको हाते पुस्तकमा गल्ती नै गल्ती भेटिएका छन् । गत आर्थिक वर्षको बजेट सक्न अन्तिम समयमा तयार गरिएको ‘ब्यूटिफुल सुदूरपश्चिम नेपाल कफि टेबल बुक’मा थुप्रै गल्तिहरु भेटिएका हुन् । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निकालिएको हाते पुस्तकमा भएका गल्तीहरूले पर्यटकहरूलाई सही सूचना र जानकारी नदिएर अन्यौल बनाउने निश्चित छ ।

गत आर्थिक वर्षको बजेटबाटै असार अन्तिममा उक्त पुस्तक तयार पारिएको हो । मन्त्रालय अन्तरगत रहेको पर्यटन इकाईमा जानकारी मूलक सुदूरपश्चिम प्रदेशको प्रोफाइल बनाउन २ लाख रकम विनियोजन गरिएको थियो । तर अन्तिम समयमा उक्त जिम्मा नाटा सुदूरपश्चिम प्रदेशलाई दिइयो । आर्थिक वर्षको अन्यमा हतार हतारमा १ लाख ७५ हजारमा तयार गरिएको हाते पुस्तक हचुवाको भरमा तयार गरिएको हो ।

बजेट सक्न रातारात बनाइएको पुस्तक केही महिला मन्त्रालयमै लुकाइयो थियो । थुप्रै गल्तिहरु भेटिएपछि आफूहरू यसलाई सार्वजनिक गर्ने कि नगर्ने भन्ने मनसायमा रहेको मन्त्रालयका पर्यटन शाखाका भोजराज पाठकले बताए । ‘हतारमा काम गर्दा समस्या भएको हामीबाट केही गल्ती भएको हो उनले भने, हामीले केही समय यसलाई बाहिर सार्वजनिक गरेनौँ ।’

नाटाले प्राविधिक कमजोरी गर्दा समस्या भएको उनले बताए । ‘हामीले अहिले धेरै सच्याएका छौँ’ उनले भने, ‘तपाइको हातमा नसच्याइएको पुस्तक परेको होला । अहिले धेरै सच्याएका छौँ ।’

मन्त्रालयले थुप्रै गल्तिहरु भेटेपछि फेरि नयाँ पुस्तक प्रकाशित गर्ने तयारी गरेको छ । ‘प्राविधिक बिषयामा थुप्रै समस्या भेटियो’ मन्त्रालयका पर्यटन शाखाका पाठकले भने ‘अब फेरि नयाँ पुस्तक तयार गर्ने योजनामा छौँ।’

पश्चिम टुडेबाट

प्रकाशित मितिः     ९ पुष २०७६, बुधबार ११:५३  |