नेपालगञ्ज नाकाबाट व्यापार घाटा गत बर्ष भन्दा डेढ अर्ब कम


नेपालगञ्ज, पुस ९ गते । चालु आर्थिक वर्ष २०७६–०७७ को पहिलो चार महिनामा नेपालगञ्ज नाकाबाट ब्यापार घाटा गत आर्थिक बर्ष २०७५–०७६ को पहिलो चौमासिकको तुलनामा डेढ अर्ब भन्दा बढी कम भएको छ ।

सरकारले आयात घटाउने र निर्यात बढाउने निति लिएकोले यस बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको पहिलो चौमासिक भन्दा १ अर्ब ५२ करोड रुपैयाँको व्यापार घाटा कम भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा १६ अर्ब २२ करोड ६६ लाख ८४ हजार रुपैयाँको सामाग्रीहरु आयात भएको छ । जबकी गत आर्थिक बर्षको सोही अवधीमा १८ अर्ब ५० करोड ६० लाखको सामान आयात भएको थियो ।

यो बर्षको पहिलो चौमासिकमा २ अर्ब २८ करोड रुपैयाँको आयात घटेकोले व्यापार घाटा पनि कम भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउनु भयो ।

उहाँका अनुसार यस आर्थिक बर्षको पहिलो चौमासिकमा नेपालगञ्ज नाका भएर १६ अर्ब २२ करोड ६६ लाख ८४ हजार रुपैयाँको सामाग्रीहरु आयात गरिएको छ भने ३५ करोड ६२ लाख ९५ हजार रुपैयाँको मात्र निर्यात गरिंदा १५ अर्ब ८७ करोड ३ लाख व्यापार घाटा भएको छ ।

गत आर्थिक बर्षको सोही अवधीमा १८ अर्ब ५० करोड ६० लाख बराबरको सामग्री आयात भएकोमा ६१ करोडको निर्यात भएकोले १७ अर्ब ३९ करोडको ब्यापार घाटा भएको थियो । यो बर्षको पहिलो चौमासिकमा १ अर्ब ५२ करोड व्यापार घाटा कम भएको भन्सार प्रमुख निरौलाले बताउनु भयो ।
लामो समयसम्म रोकिएको जडिबुटीको निर्यात यही मंसिर महिनाबाट फेरी शुरु भएकोले दोस्रो चौमासिकमा निर्यात झनै बढ्ने र व्यापार घाटा अझै कम हुने आशा गरिएको उहाँले बताउनु भयो ।
नेपालबाट जडीबुटी, रोजिन, टरपेन्टाइन, वनस्पति उत्पादन, नौनी, बटर, घ्यू, राँगाको मासु, खनिज र पिना, अदुवा, सुठोलगायत मसालाजन्य वस्तुको भारत लगायत तेस्रो देशहरुमा निर्यात हुने गरेको भन्सार प्रमुख निरौलाले बताउनु भयो ।
उहाँका अनुसार यसैगरी भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, कपडा, गाडीहरु तथा मेसिनरी सामान सबैभन्दा बढी आयात हुने गरेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा सामान आयात गर्न नौ हजार भन्दा बढिले प्रज्ञापन पत्र लिएका छन् । तर, नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल पाँच सयजतिले मात्र प्रज्ञापन पत्र लिएका छन् । तर पनि यस बर्ष विगतको तुलनामा आयात भने घट्दै गएको देखिनु नै निकै सकारात्मक भएको भन्सार प्रमुख निरौलाले बताउनु भयो ।

उता, भारतले जडिबुटी निकासीलाई सहज बनाएपछि मंसिर महिनादेखि जडिबुटीको निकासी बढ्ने यसले यस क्षेत्रको व्यापार घाटालाई अझै कम गर्ने नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनु भयो । उहाँले व्यापार घाटा घटाउन जडिबुटी निकासीलाई सहज र सरल बनाउनु पर्ने माग पनि गर्नु भयो ।

प्रकाशित मितिः     १० पुष २०७६, बिहीबार १३:२१  |