कर्णालीमा समायोजनको पहल गर्न बनेको समिति उपमहानगरको बोर्ड बैठकद्धारा अनुमोदन


नेपालगञ्ज,पुस ९ । बाँकेलाई कर्णाली प्रदेशमा समायोजन गर्ने पूर्व तयारीका लागि बनेको सर्वपक्षिय समितिलाई नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले अनुमोदन गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा भेला भएको थियो । उक्त भेलाले आन्दोलनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा सचिवालय रहने गरि १७ सदस्यीय समिति गठन गरेको थियो ।

लगत्तै बसेको उपमहानगरको बोर्ड बैठकले उक्त समितिलाई अनुमोदन गर्दै समितिको सचिवालय उपमहानगरमै राख्ने निर्णय समेत गरेको प्रवक्ता प्रमोद रिजालले बताए ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँकेमा कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सार्वजक कार्यक्रममा नेपालगञ्जको विकासका लागि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउँदै आएका छन् ।
नेपालगञ्जका उद्योगी ब्यवसायीहरु पनि आर्थिक हिसावले पनि नेपालगञ्ज कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा रहेका छन् ।

समितिले आन्दोलनको वातावारण तयार पार्नका लागि बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद लगायतसँग छलफल गर्ने, बर्दियासँग समन्वय गरि अघि बढ्ने सहमति गरेको छ । समितिमा राजनीति दलको समेत प्रतिनिधित्व रहेका कारण यसपटक आन्दोलन उठ्ने राप्रपाका नेता ऋषिराज देवकोटाले बताए ।

बाँके र बर्दियालाई कर्णालीमा समायोजन गराउने अभियानका लागी समिति बन्यो

प्रकाशित मितिः     ९ पुष २०७६, बुधबार १८:२८  |