नेपालगञ्ज १० पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीले संयूक्त प्यानलमा उम्मेदवारी दिने भएका छन् ।
बिहिवार काँग्रेस निकट व्यवसायीक संगठन प्रजातान्त्रिक उद्योगी,व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोत्तम शर्मा र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनका अध्यक्ष सलाउद्धिन जसगढीबीच सामुहिकरुपमा निर्वाचनमा जाने पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा दुवै संगठनले ‘लोकतन्त्रप्रति आस्थावान व्यवसायीको साझा प्यानल’ बनेको घोषणा गरेका छन् । आगामी निर्वाचनमा संयुक्त प्यानल बनाएर मतदाता माझ जाने सहमति भएको सम्झौतापत्रमा उल्लेख छ । सहमति पत्रमा देशमा अस्थिरता छाएको, व्यवसायीक वातावारण बनाउन राज्य संवेदनशिल नबनाएको आरोप लगाइएको छ ।
त्यस्तो अवस्थामा संघ जस्ता व्यवसायीक संगठनलाई बलियो बनाउनुपर्ने उनीहरुको जोड छ । निजीक्षेत्रको मुद्दालाई सशक्तरुपमा उठाउनका लागि लोकतन्त्रवादी र उद्धार अर्थनीति अंगाल्नेबीच एकता भएको उनीहरुको भनाई छ ।