नेपालगञ्ज १० पुस – उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सचिव यामकुमारी खतिवडा र उद्योग बिभागका महानिर्देशक जीवनप्रकाश सिटौला नेपालगञ्ज आएका छन् । शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवमा सहभागि हुन सचिव खतिवडा र महानिर्देशक सिटौला नेपालगन्ज आएका हुन ।
महोत्सवको उद्घाटनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी, बरिष्ठ उपाध्यक्ष उमेश सिंह लगायत केन्द्रीय पदाधिकारी नेपालगन्ज आएका छन् । देशभरका घरेलु उद्यमीहरु भेला भएका छन् ।
उद्योग मन्त्रालयका सचिव, उद्योग बिभागका महानिर्देशक लगायत घरेलु तथा साना उद्योगका नेताहरुलाई नेपालगञ्ज बिमानस्थलमा महोत्सव आयोजक समितिको तर्फबाट स्वागत गरिएको थियो ।
निर्वतमान सहरी विकास मन्त्रालय एवं बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईले उद्घाटन गर्ने छन् । अन्य बिशिष्टि व्यक्तिहरुको सहभागिता रहने छ ।
महोत्सव उद्घाटन हुनु अघि शुक्रवार बिहान आठ बजेपछि बिपीचोक आठ बजे भब्य सांस्कृतिक झाँकी शुरु हुने छ । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु ः मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले बताए ।
यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको छ ।
भ्रमण वर्ष २०२०को प्रबद्र्धनमा समेत मद्दत पुराउने अपेक्षा गरिएको छ । यी स्टलहरु मध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट्याईएको छ । महिला समिति अध्यक्ष मिना सुवेदी ढकालका अनुसार, महोत्सवमा उद्योग व्यावसायको प्रवद्र्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सास्कृतिक कार्यक्रम, विद्यालय स्तरिय आईडललगायतका कार्यक्रम गरिदै छ ।
महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ । टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोग नै महोत्सवको आम्दानी हो । महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ । सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाइएको सचिवालय संयोजक सतिश अधिकारीले जानकारी दिए ।