अहिले सिमेन्टको बजार सुस्ताएको छ । निर्माण र पूर्वाधारको काम अपेक्षित रुपमा नबढेपछि सिमेन्टको माग पनि बढ्न सकेको छैन् । तर, यहि समयमा आफ्नो बजार हिस्सा बढाउन अर्घाखाँची सिमेन्टले ‘अफर’ र ‘स्किम’ ल्यायो । ब्रान्डिङमा आक्रमक रुपमा आएको अर्घाखाँची सिमेन्टले स्थापनादेखि नै जोखिम मोल्दै ‘मार्केट लिडर’ बनिरहेको छ ।
७ वर्षअघि कपिलवस्तुमा रहेको डाइनेस्टी सिमेन्ट उद्योगलाई खरिद गरेर अर्घाखाँची सिमेन्टले पछिल्लो पटक लगानी मात्र बढाएको छैन, क्षमता पनि बढाएको छ । सिमेन्टमा आफ्नो बजार हिस्सा बढाउन उद्योगले मुलुकको ७७ वटै जिल्लामा आफ्नो उत्पादनलाई बजारीकरण गरेको छ ।
उद्योगी पशुपति मुरारका, राजेश अग्रवाल, मनोज केडिया र भारतको उमा सिमेन्टको साझेदारीमा ७ अर्ब लगानीमा स्थापना भएको अर्घाखाँची सिमेन्टले अहिले दैनिक ३ हजार मेट्रिक टन उत्पादन क्षमता पु¥याएको छ । पाल्पाको श्री डाँडा र कसनीमा आफ्नै माइनिङ रहेको उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ भने क्लिङ्कर पनि उत्पादन गरेर अन्य उद्योगलाई पनि विक्री गर्दै आइरहेको छ ।
नेपालमा स्थापित एक विदेशी कम्पनीसँगको साझेदारीमा खुलेको सिमेन्ट उद्योगले ३६ अर्बमा ६ हजार मेट्रिक टनको उद्योग लगाइरहेको बेला अर्घाखाँचीले ७ अर्बमै ३ हजार मेट्रिक टनको क्षमता पु¥याएको हो । उद्योग लगाउँदा लगानीको विषयमा अहिले अर्घाखाँची सिमेन्टको उदाहरण पनि प्रस्तुत हुन थालेको छ । लगानी र क्षमतामा मुलुकको दोस्रो ठूलो सिमेन्ट उद्योग भए पनि खासमा आफ्नै लगानी अनुपात बढाउँदा सस्तोमा नै अर्घाखाँची मुलुककै ठूलो सिमेन्ट उद्योग हुने सञ्चालक मुरारका बताउँछन् ।
रुपन्देहीको सियारी गाउँपालिकामा रहेको उद्योग ११ विगाहा जग्गामा फैलिएको छ । उद्योगमा ११ सय जना कामदारले रोजगारी पाएका छन् । उद्योगभित्र मात्रै ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योगले जनाएको छ ।
अर्घाखाँची सिमेन्ट गुणस्तरमा सम्झौता नगरि उत्पादन गरिएको उद्योगका सञ्चालक मुरारकाले बताए । ‘आफ्नै खानी, आफ्नै क्लिङ्करमार्फत उत्पादन हुन्छ, गुणस्तर राम्रो भएकाले नै अहिले यसको माउथ पब्लिसिटी बढ्दै गएको छ’ उनले भने, ‘आफ्नै ल्याब र उच्च प्रविधिको स्वचालित मेसिन पनि भएकाले उपभोक्ता अझ बढि विश्वास छ,’ । अर्घाखाँची सिमेन्ट ५३ ग्रेडभन्दा पनि माथीको रहेको मुरारकाले बताए ।
उद्योगले आफुलाई चाहिने विद्युत व्यवस्थापनका लागि सिमेन्ट उत्पादन गर्दा बाहिर फाल्ने तातो हावाबाट २।५ मेगावाट विद्युतसमेत उत्पादन गरेको छ ।
सरकारले हामीलाई आवश्यक बिजुली पनि उपलब्ध गराएको छैन, उद्योगका अर्को सञ्चालक राजेश अग्रवालले बताए । ‘हामीलाई चाहिने विद्युतमध्ये आधा जेनेटरबाट व्यवस्थापन गरेका छौं,’ उनले भने ।
अहिले विकास निर्माण तथा पूर्वाधारका काममा सुस्तता आएपछि सिमेन्टको माग घटिरहेकाले मूल्य पनि ओरालो लागेको अग्रवाल बताउँछन् । ‘तर, हामी दीर्घकालिन सोच राखेर यसमा लगानी बढाइरहेका छौं, अझै उच्च प्रविधिमा जाने र नयाँ प्रविधि थप्ने भन्ने योजना छ,’ उनले भने । ‘जहाँ जोखिम हुन्छ हामी त्यहि सम्भावना खोज्छौं, हाम्रो उद्योग पनि त्यसैगरि सुरु भएको हो ।’