रासस
बाग्लुङ। भाटभटेनी सुपर मार्केटले बाग्लुङमा नयाँ स्टोर संचालनमा ल्याउने भएको छ। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको नयाँ शाखा बागलुङमा सञ्चालनमा ल्याउने बताए।
बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि भएको लगानी बहसमा भाटभटेनीका संचालक गुरुङले नयाँ स्टोरको तयारी भैरहेको जानकारी दिएका हुन्।
कार्यक्रमममा गुरुङले जिल्लाका व्यवसायीलाई आम्दानी बढाउने उपायका बारेमा जानकारी दिए। उनले आफ्नो सफलताको सूत्र बागलुङका उद्यमीलाई सुनाउँदै व्यवसाय शुरु गरेपछि राष्ट्रप्रति जिम्मेवार बन्नुपर्ने तथा कडा परिश्रम गरेमा जस्तोसुकै व्यवसाय सफल बन्ने धारणा राखे।
‘उज्यालो बागलुङ, समृद्ध बाग्लुङ’ विषयक लगानी बहसमा बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी भित्र्याउनका लागि ठूला उद्यमी इच्छुक रहेको बताएका थिए ।
बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, नेपालकै ठूला उद्यमी शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ लगायतका सहभागिहरुले बहस गरेका थिए।
सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार इच्छुक रहेको भन्दै ढुक्क भएर ठूला उद्योगमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे।
उनले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालीन सोचका साथ गर्न समेत आग्रह गरे।
“सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन धेरै समय लाग्छ ।” गुरुङले भने। अहिले प्रदेश सरकारले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत्, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको बताए ।
उनले लगानी भित्र्याउनका लागि गण्डकी प्रदेश सरकार तत्पर भएर सहयोग गर्ने बताए।
लगानीको वातावरण गराउन तीन तहको सरकारले आवश्यक कदम चालेमा जलविद्युत्, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको लगानीकर्ताले बताएका थिए ।
लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले नेपालमा राजनीतिक सङ्कटमा समेत ठूला उद्योग सञ्चालनका लागि आफू सफल भएको भन्दै अहिले केही सहज वातावरण बन्दै गएको धारणा राखे।
उनले बागलुङमा कृषि उद्योगको सम्भावना देखेको भन्दै स्थायी सरकार आउँदा उद्यमीलाई सकारात्मक वातावरण मिल्दै गएको बताए।
गोल्छाले बागलुङ लगानीको निकै सम्भावना भएको क्षेत्र भएकाले स्थानीयको सहलगानीमा कृषि उद्योग सञ्चालन गर्ने आश्वासनसमेत दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले पर्यटनको क्षेत्रमा बाग्लुङमा लगानी भित्र्याउन आफू तत्पर रहेको बताउँदै सम्भावनको खोजी गरिरहेको बताए।
आफ्नै गृह जिल्ला भएकाले पनि बागलुङमा केही लगानी गर्ने योजनामा रहेको भन्दै ढकालले केबलकारसहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने देखेकाले पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको जानकारी दिए।
लगानीको समस्या र सम्भावना बारे सांसद देवेन्द्र पौडेल, डा सूर्य पाठक, पर्यटन अभियानकर्मी खिमानन्द कँडेललगायतले जिज्ञासा राखेका थिए। लगानी बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले गरेका थिए।
छैटौँ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा लगानी बहसको आयोजना गरिएको हो। ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बहस गरिएको आयोजकले जनाएको छ।