नेपालगञ्ज १२ पुस – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सव शुरु भएको छ ।
महोत्सवको उद्घाटन लगत्तै राष्ट्रिय तथा स्थानीय कलाकारको बिशेष प्रस्तुती शुरु भएको छ । पहिलो दिन कलाकारहरु ढाकाराम बानिया र दिक्षा सुनार लगायतका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । दोस्रो दिन शनिवार चर्चित गायक दुर्गेश थापा र भूमिका गिरी प्रस्तुती रहने छ ।पूर्व सहरी विकास मन्त्रालय एवं बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरे ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव यामकुमारी खतिवडा, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का लगायतले महोत्सवले लद्यु, घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने अपेक्षा गरे ।
महोत्सव उद्घाटन हुनु अघि शुक्रवार बिहान आठ बजेपछि बिपीचोकबाट सांस्कृतिक झाँकी शुरु भएको थियो । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले बताइन ।
यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस महोत्सवले पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको संहसंयोजक मिना ढकाल सुवेदीले बताइन ।