- रविन्द्र शाही /सेतोपाटीबाट
काठमाण्डौ – करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए ।
सन् २०१५ मा उनी बेलायत गए । सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे ।
युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन ।
तर अचानक बाटोमा हिँड्दै गर्दा एउटा बोर्डमा उनको नजर पुग्यो । ट्विडु लेखिएको पसलमा उनी छिरे । ट्विड शब्दका बारेमा उनी अनजान थिए । भित्र गएपछि कपडा पसल रहेछ भन्ने थाहा पाए ।
अन्जानमै छिरेको पसलका लुगाकपडा देखेर उनी चकित खाए । त्यहाँ परापूर्वकालदेखि नेपालका हिमाली क्षेत्रमा प्रयोग हुनेजस्तै कपडा र सामग्री थिए ।
‘मलाई त्यो दिनसम्म ट्विडका बारेमा जानकारी थिएन । त्यहाँ पुगेपछि थाहा भयो, त्यो त रफ उल रहेछ, प्रशोधन नगरिएको ऊन,’– दीपबहादुरले सम्झिए ।
उनले त्यही दिन अर्को कुरा पनि थाहा पाए, कुनै समय नेपालका हिमाली तथा पहाडी क्षेत्रका मान्छेले लगाउने बख्खु र कोटकै ब्रान्डिङ रहेछ ट्विडु ।
तर उनलाई यकिन भएन, के साँच्चै स्कटल्यान्डको ट्विड र नेपालको बख्खु उस्तै हो ?
फर्केपछि दीपबहादुर काठमाडौंका सुट सिलाउने पसल चहार्न थाले । ट्विड नेपालमा आउँछ कि आउँदैन, कस्तो बजार छ, कस्ता मान्छेले लगाउँछन् लगायत सोधखोज गरे ।
प्रारम्भिक सोधखोजले उनलाई निष्कर्षमा र्पुयायो, ट्विडजस्तै कपडा नेपालमा उत्पादन गर्न सकिन्छ र यो उच्च खानदानी तथा कपडाका सोखिनहरूले लगाउने रहेछन् ।
यो निष्कर्षपछि उनले तत्काल नमूना उत्पादन सुरू गरिहाले । कार्पेट उत्पादन गरिरहेका दीपबहादुरलाई ट्विडको नमुना उत्पादन गर्न कठिन भएन । धागो बनाउने, रङ हाल्ने तथा कपडा बनाउने (बुन्ने) आधारभूत पूर्वाधार उनीसँग उपलब्ध थिए ।
नमूना उत्पादन त भयो । तर दीपबहादुरलाई स्कटल्यान्डको जस्तै ट्विड भयो कि भएन भन्ने अलमल रह्यो । त्यसैले यसको व्यावसायिक उत्पादन योजना पनि बनाएका थिएनन् ।
तर जब उनले आफ्नो नमुना उत्पादन पसलहरूमा लिएर जचाए, त्यसपछि उनी हौसिए ।
‘मैले आफ्नो नमुना यहाँ ट्विड बिक्ने पसलमा देखाउँदा उस्तै देखियो । गुणस्तरका हिसाबले पनि कमी देखिएन। मेरो मेहनत खेर गएन,’–उनले भने ।
त्यसपछि त के चाहियो । उनले व्यावसायिक उत्पादन सुरू गर्ने निधो गरे ।
विश्व बजारलाई लक्ष्य गरेर उत्पादन सुरू गरेकाले गोर्खा र ट्विडु जोडेको उनको भनाइ छ ।
‘नेपाली बजारमा कपडा बिक्री नगर्ने सोचमा छु । हामी आफैंले आउटलेट राखेका छौं । नेपालीपन झल्किने गोर्खा र विश्व बजारको ट्विड नाम राखेर नामाकरण गरिएको हो,’–दीपबहादुरले भने ।
गोर्खा ट्विडको आउटलेट लाजिम्पाटमा छ । नेपाली उपभोक्ताले चाहेमा यहीँबाट लिनसक्ने उनले जानकारी दिए । यसका लागि आफूलाई मनपर्ने रङ र डिजाइनमा अर्डर गर्न पनि सकिन्छ ।
अहिलेसम्म १० हजार मिटर ट्विड बुनिसकिएको र २ हजार मिटर बुन्ने क्रममा रहेको उनले जानकारी दिए । अब विदेश निर्यातका लागि पहल गर्ने उनको योजना छ ।
गोर्खा ट्विडको ब्रान्डमा कोट, पाइन्ट, स्वीटर, सर्ट, जुत्ता तथा झोला उक्त आउटलेटमा पाइन्छन् ।
ट्विड अर्थात् प्रशोधन नगरिएको ऊन बनाउन नेपाली कच्चा पदार्थ प्रयोग हुन्छ । यसमा श्रम पनि नेपाली नै प्रयोग हुने उनले बताए ।
दीपबहादुरका अनुसार कर्णालीका विभिन्न जिल्लाबाट मंसिर र चैत गरी वर्षमा दुईपटक ऊन ल्याइन्छ । कर्णालीमा बन्ने राडीपाखीमा प्रयोग हुनेभन्दा फरक ऊन हुने उनले जानकारी दिए ।
‘यसरी तयार पारिएको गोर्खा ट्विडका कपडा विदेशीका तुलनामा डिजाइनदेखि गुणस्तरसम्म केहीमा कमी छैन, उनले दाबी गरे,प्राकृतिक रङ समायोजन गरिएको र डिजाइन पनि भिन्न भिन्न छ ।
गोरखा ट्विडको तयारी कोटको मूल्य १६ हजारदेखि सुरू हुने उनले जानकारी दिए । यहाँ ुकर्णाली कलेक्सनु भनेर छुट्टै उत्पादन पनि राखिएको छ जहाँ कर्णालीकै जीवनशैलीसँग मिल्ने कोट तथा अन्य कपडा छन् ।
अहिले उच्च मूल्यका कपडामात्र बिक्री गरिरहे पनि भविष्यमा प्रविधि प्रयोगबाट सकेसम्म सस्ता सामान ल्याउन प्रयास गर्ने दीपबहादुरले बताए ।