नेपालगञ्ज १३ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले न्यूरोडमा सचिवालय सन्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं व्यवसायीका नेता दामोदर आचार्य,महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, पूर्व महासचिव अशोक कर्माचार्य, प्रतिष्ठित व्यवसायीहरु मधुसुदन शर्मा, सेम शाक्य, रामगोपाल बैश्य लगायतको उपस्थितीमा रिवन काटेर सचिवालय उद्घाटन गरिएको हो ।
सचिवालय उद्घाटन गर्दै महासंघका केन्द्रीय सदस्य दामोदर आचार्यले बाँकेको व्यवसायीक हितका लागि समावेशी प्यानल बिगत देखि नै सक्रिय रहेको बताउँदै भने,–‘हाम्रो प्यानलले जिते जिल्लाको व्यवसायीक हित सुनिश्चित हुन्छ भनेर हामीलाई सबैले नियालेका छन् ।’ आचार्यले सबै बिचार र भावनाको कदर गर्दै बिशुद्ध व्यवसायीक मुद्दाको उठान गर्दै निर्वाचनमा भाग लिनका लागि आह्वान गरे । ‘नाम जस्तै समावेशी बनाउन हामीले कुनै कसर बाँकी राखेका छैन ।’– आचार्यले भने । उनले प्यानलमा सहभागि भइसकेपछि एकढिक्का भएर अगाडी बढ्न पनि आह्वान गरे ।
महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, मधुसुदन शर्मा, सेम शाक्यले एकढिक्का भएर आफूहरु समावेशी प्यानलका उम्मेदवारलाई जिताउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले व्यवसायीक मुद्दाका आधारमा निर्वाचनमा सहभागि हुन पनि आह्वान गरेका छन् । समावेशी प्यानलका संयोजक ईश्वर पोख्रेलले बिगतमा जस्तै यसपटक पनि समावेशी प्यानललाई सबै व्यवसायीको साझा बनाएर अगाडी बढेको बताए । उक्त प्यानलले केही दिनमै उम्मेदवारी घोषणा गर्ने प्यानल सचिव बसन्त लामिछानेले जानकारी दिए ।