नेपालगञ्ज १३ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल बन्ने निश्चित भएको छ । समावेशी र प्रजातान्त्रिक प्यानल । यि दुवैले न्यूरोडमा सचिवालय उद्घाटन गरेर निर्वाचनको मोर्चा खोलिसकेका छन् । यसपटक निर्वाचनमा नयाँ प्रकारको समिकरण बनेको छ । गत वर्ष जस्तो तीनवटा प्यानल बन्ने अवस्था देखिएन ।
उद्योगी, व्यवसायीका नेताहरु दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ र अशोक कर्माचार्य एक ठाउँमा आएका छन् । आईतावर समावेशी प्यानलको सचिवालय उद्घाटनका क्रममा यि तीनै जना व्यवसायीको चुनावका खेलाडीहरुले आफ्ना सर्मथकहरुलाई एकताको सन्देश दिए ।
२०५२ देखि २०६२ सम्मको उद्योग वाणिज्य संघको राजनीतिमा आचार्य, श्रेष्ठ र कर्माचार्य एकै ठाउँमा थिए । त्यसपछि भने अलग रहे । अहिले फेरी उनीहरु एकठाउँमा उभिएर आफ्ना उम्मेदवार जिताउने अभियानमा लागेका छन् । सचिवालय उद्घाटनका क्रममा आचार्यले सबै सहकर्मीहरुलाई एक ठाउँमा पाउँदा ज्यादै खुसी लागेको बताए । उनले यही एकताको माध्यमबाट प्यानल जिताउन लाग्नुपर्ने उल्लेख गरे ।
नेपालगञ्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठ र कर्मचार्यले आफुहरु एक ठाउँमा आएको बताउँदै बिगतका कुराहरुले अहिले कुनै अर्थ नराख्ने जनाए । उनीहरुले भने,–‘आजको दिन हामी असाध्यै खुःसी छौं । अब नतिजा निकाल्न लाग्छौ ।’ कर्माचार्यले एकता नतिजामा परिणत हुने बताए । उक्त प्यानललाई व्यवसायी नेता नन्दलाल बैश्य,दुर्गाप्रसाद भण्डारी, मधुसुदन शर्मा,सेम शाक्य लगायतले ‘लिड’ गरिरहेका छन् । अध्यक्षमा अब्दुल वाहिद मन्सुरी निश्चित भइसकेका छन् भने उम्मेद्वारी घोषणा गर्न बाँकी छ ।