बाँके १५ पुस — नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भएर मुलुका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ ।
दुई वर्षअघि निकुञ्जमा जम्मा ४ जना पर्यटक आएका थिए । आर्थिक वर्ष ०७५र७६ मा १ सय ६० पर्यटक आएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमा १ सय ४८ जना आन्तरिक पर्यटक छन । ११ जना सार्क मुलुकका र १ जना विदेशी रहेको थपलियाले सुनाए । निकुञ्ज घोषणा भएको ८ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किने गरेको उनले सुनाए । ‘बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदै छ’, निकुञ्जका प्रमुख प्रमोद भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाएका छन ।’ पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्था छ ।
मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य हो । चुरे क्षेत्रमा हाइकिङ गर्न सकिने हुँदा पर्यटकको रोजाइँ हुन थालेको गाभर भ्याली सामुदायिक होमस्टेका प्रमुख कृष्ण चौधरीले बताए । ‘यहाँ ससाना चुरे छन’, उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’ आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्वव बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि ३ वटा निजी थारू होमस्टे र १७ वटा घर भएका सामुदायिक होमस्टे सञ्चालित छन । सबैभन्दा महत्वपूर्ण कुरा बिमानस्थल र सुविधा सम्पन्न तारे होटल यहाँ स्थापना भएका छन् ।
बाँके राष्ट्रिय निकुन्ज
स्थापनाः २०६७ साल (सन् २०१०)
म. क्षे. स्थापनाः २०६७ साल (सन् २०१०)
क्षेत्रफलः ५५० वर्ग कि.मि.
म. क्षे. क्षेत्रफलः ३४३ वर्ग कि.मि.
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।
यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । निकुञ्ज भित्र वन्यजन्तु आवतजावतमा अप्ठेरो पर्ने महादेवपुरी दयततभिलभअप क्षेत्र पनि पर्दछ । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । सन्य २०१८ को बाघ गणना अनुसार यस निकुञ्जमा २१ वटा पाटे बाघ रहेका छन । क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो, जसमा बाँकेका ७, दाङका ३ र सल्यानका साविकका ३ वटा गा.वि.स. पर्दछन् । यी गा.वि.स.मा झण्डै ४३,००० मानिसहरूको बसोबास रहेको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ |