नेपालगञ्ज १६ पुस – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगञ्जबाट भ्रमण वर्ष २०२० लाई स्वागत गरेका छन् । जिल्ला स्तरीय पर्यटन प्रर्वद्धन समितिले होटल सिद्धार्थमा आयोजना गरेको बिशेष कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भ्रमण वर्षको स्वागत गरे ।
मध्यरातमा आतिशवाजी सहित भ्रमण वर्षको स्वागत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन्,–‘नेपाल भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो । अंग्रेजी वर्ष र भ्रमण वर्षको शुभकामना ।’
भ्रमण वर्षको स्वागत समारोहमा प्रदेश ५ का उद्योग मन्त्री लिला गिरी, बाँकेका प्रतिनिधिसभा सदस्य महेश्व गहतराज अथक, प्रतिनिधि सभा सदस्य सुजाता शाक्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख लगायत उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवाको सहभागिता थियो ।
मुख्यमन्त्री पोख्रेल लगायत आज बिहान बाँके निकुञ्जमा हात्ती सफारीको औपचारिक उद्घाटन गर्दै छन् । सोही टोली भ्रमण वर्षको शुभारम्भका लागि बर्दिया निकुञ्ज जाने तयारीमा छ ।