मतदाता रिझाउँदै व्यवसायी उम्मेदवारी


नेपालगञ्ज २१ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी र साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार यतिबेला मतदाता रिझाउन व्यस्त छन् ।

अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई मतदाताले स्वागत गरेका छन् । प्रचार,प्रसार तिव्र बनाउँदै उक्त प्यानलले यतिबेला घरदैलो अभियान सन्चालन गरिरहेको छ । समावेशी प्यानलका उम्मेदवारले सोमवार धम्वोझी, नर्सिङ्गहोम, खजुरारोड, सुर्खेतरोडमा घरदैलो गरेका थिए । व्यवसायीक हकहितको एजेण्डा बोकेर आफुहरु मतदाता माझ आइपुगेको उम्मेदवारले बताएका छन् । ‘संघलाई उद्योगी, व्यवसायीको भरोसाको केन्द्र बनाउने उदेश्य सहित हामी चुनावमा उत्रिएका छौं ।’– मतदातासंगको भेटमा अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने,–‘यहाँहरुको साथ र सहयोग रहने आशा गरेका छौं ।’ समावेशी प्यानलका उम्मेदवारले मतदाताको सहयोगबाट आफुहरु उत्साहित भएको बताए ।

उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्मराज अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बनिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।

यस्तै

 

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले घरदैलो भेटघाटलाई तीब्रता दिएको छ । ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले सोमवार विहान नेपालगन्जको घरबारी टोल र धम्वोजीमा पुगेर घरदैलो गरेको हो । आफ्ना चुनावी एजेण्डाका साथ घरदैलोमा होम्मिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले सोमवार विहान घरबारी टोलमा मतदातासँग भेटघाट गरेको सचिवालय संयोजक धु्रवप्रसाद दाहालले जानकारी दिए ।

रौनियार नेतृत्वले टोलीले सोमवार नै प्रादेशीक महोत्सवमा पुगेर समेत आफ्नो पक्षमा सहयोग गर्न मतदातासँग अपिल गरेको छ । ‘आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनौवी मैदानमा उत्रिएको रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योगी व्यवसायीको हकहित र व्यवसायगत सुरक्षाका लागि मतदान गर्न मतदाताहरुसँग आग्रह गरेको थियो ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार दिएका छन् । । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।

प्रकाशित मितिः     २१ पुष २०७६, सोमबार २०:३४  |