नेपालगञ्ज २२ पुस – प्रदेश ५ सरकारले थ्री डि टुर गाइड एप बनाउने भएको छ । प्रदेशभरका पर्यटकियस्थलका बारेमा जानकारी दिने त्यस्तो एप निर्माणका लागि उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयले तयारी शुरु गरेको छ ।
उक्त एपमा प्रदेश ५ का प्रमुख पर्यटकीय गन्तव्य, यातायात, होटलहरु, धार्मिक तथा ऐतिहासिक समेटिने मन्त्रालयले जानकारी दिएको छ । प्रदेश ५ सरकारले उद्योग र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिदै त्यसको प्रर्वद्धनका लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहाँ धार्मिक, पर्यापर्यटनको तिव्र सम्भावना रहेको छ ।
पर्यटकीयस्थलका बारेमा एकमुष्ट जानकारी दिने एप बनाउनका लागि परामर्श दाता खोजिदै छ । इच्छुक परामर्शदातालाई पन्ध्र दिन भित्र आवेदन दिन सार्वजनिकरुपमा आह्वान गरिएको छ । सम्झौता भएको पाँच महिना भित्र एप बनाइसक्नुपर्ने गरी तयारी भइरहेको छ । प्रदेश ५ को पर्यटन लोगो बनाउने योजना भने गुमनाम भएको छ । पर्यटन लोगो बनाउने प्रस्तावाना आह्वान गरेको दुई महिना भन्दा बढि बित्दा समेत प्रदेश उद्योग मन्त्रालयले लोगो सार्वजनिक गरेको छैन ।