नेपालगञ्ज २२ पुस – उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले औद्योगिक ग्रामका लागि जग्गा यथासिघ्र जग्गाको व्यवस्थापन गर्न स्थानीय तहका नाममा सूचना जारी गरेको छ । पुसको दोस्रो साता मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।
स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर्षमा ३२ वटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको छ ।
चालु आर्थिक वर्षमा प्रत्येक प्रदेशमा १० वटा गरी जम्मा ७० वटा ओद्योगिक ग्राम स्थापना गर्ने तयारी भइरहेको छ । संघीय सरकार, प्रदेश र स्थानीय तहको समन्वयमा बन्ने औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्थापन गरी मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण मन्त्रालयमा पठाउन भनिएको छ ।
बाँकेको खजुरा गाउँपालिका–५ पुरनैनामा औद्योगिक ग्राम बन्ने भएको छ । २०७६ असोज ५ गतेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ७ सय ५३ स्थानीय तह मध्ये ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार सीमित गाउँपालिकामा खजुरा पनि परेको हो । प्रदेश ५ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिका पनि खजुरा नै हो । औद्योगिक ग्रामको जग्गा व्यवस्थापन भइसकेको छ भने सोको डिपिआर र वातावरणीय परीक्षण जस्ता प्रारम्भीक चरणको काम पनि शुरु हुँदै छ । ‘डिपिआर जस्ता काम गर्नका लागि रु २० लाख निकासा भइसकेको छ । अब काम अगाडी बढ्छ ।’– खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले भने ।