बाँकेका स्कुले विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा, पैसा बचत गर्न सिकाउँदै


नेपालगञ्ज २४ पुस – राष्ट्रिय वाणिज्य बैंकले वित्तीय पहुँच र वित्तीय साक्षरता अभियानलाई तिव्रता दिएको छ । यसै क्रममा कोहलपुर शाखाले स्थानीय सगरमाथा हाईस्कुलमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । विद्यालयका विद्यार्थीलाई रावा बैंकका कर्मचारीहरुले बैंक तथा वित्तीय साक्षरताका बारेमा प्रशिक्षण दिएका थिए ।

आफ्नो भविष्यका लागि बचत गर्ने तरिकाले सिकाइएको छ । अहिलेबाटै पैसाको महत्व र त्यसलाई कसरी बचत गर्ने भन्ने तरिका बैंकका कर्मचारीले सिकाए । बजारमा बैंकिङ्ग प्रतिश्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकहरुको होडबाजी नै चलेको छ । हरेक वर्ष बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढेको छ । संघीयतापछि राष्ट्र बैंकले बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकहरुले अनिवार्य शाखा विस्तार गर्नुपर्ने तीनि बनाएपछि गाउँमा बैंकहरु त पुगेका छन, तर ग्रामिणक्षेत्रमा वित्तीय साक्षरता अझै पुगेको छैन ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानीजस्ता विषयमा जानकारी दिने गरेको गरिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार, आर्थिक बर्ष २०७४/०७५ सम्म बाँकेमा बैंक तथा वित्तीय संस्थाको शाखा १६२ पुगेको छ । तर ती शाखाहरु नेपालगन्ज र कोहलपुरजस्ता शहरमा मात्रै केन्द्रीत छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको आकर्षण बढाउन ‘वित्तीय साक्षरता’ अभियान सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको देखिँदैन । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकमैत्री सेवाका लागि पहल गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख आनन्द सुवेदीले आफुहरु वित्तीय पहुँच र वित्तीय साक्षरतालाई तिव्र बनाइरहेको बताए ।

प्रकाशित मितिः     २४ पुष २०७६, बिहीबार १५:५१  |