‘नियोजितरुपमा चरित्र हत्या गर्ने काम गरियो’–चिरञ्जीवी ओली


चिरञ्जीवी ओली
सदस्य पदका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन
(समावेशी प्यानल)

दश वर्षदेखि नेपालगञ्जमा रहेर व्यवसायीक क्षेत्रमा क्रियाशिल छु । आफ्नो व्यवसायीक कर्मसंगै व्यवसायीक हकहितका सवालमा समेत सदैव इमानदारीतापूर्वक दिन रात नभनी लागेको छु । यस क्रममा मैले कसैको कुभलो चिताउने काम गरिन । इमानदारीता र व्यवसायीकतालाई सदैव आत्मसाथ गरे । मेरो व्यक्तिगत आचरणका बारेमा सबै उद्योगी, व्यवसायी अवगत हुनुहुन्छ नै ।

नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलबाट सदस्य पदको उम्मेदवारी दिइ मतदाता माझ पुगेका बेला मेरो बारेमा केही संचारमाध्यममा समाचार त आयो आयो । ती समाचारमा कतै पनि मेरो भनाई राख्ने अवसर दिइएन । एकपक्षियरुपमा मेरो बिरुद्ध आक्रमण भएको देखे । अर्को तर्फ व्यवसायीक हकहितकै विषय उठान गरे प्रतिस्पर्धामा रहेको साझा प्रजातान्त्रिक प्यानले समेत मेरो नामै किटान गरेर मतदाता परिचय पत्र कब्जा गरेको भनेर प्रचार प्रसार गरेको देख्दा निकै दुःख लागेको छ ।

उद्योगी, व्यवसायीको सहजताका लागि स्वयं मतदाताले भने पछि बिना स्वार्थ मैले मंसिरको दोस्रो हप्तामा केही परिवारिक मतदाता परिचयपत्र ल्याएको थिए । नविकरण र नयाँ सदस्यता लिदा मतदाता स्वयं नआउँदा पनि नविकरण गर्न मिल्ने र सदस्यता समेत पाउने अवस्था देखेपछि सचिवालयका कर्मचारीसंग मैले यसो गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा सोधेको थिए । सचिवालयबाट अनुमति पाएपछि मात्र मैले उद्योगी, व्यवसायीको सहजताका लागि उक्त मतदाता परिचय पत्र हस्ताक्षर गरेर ल्याए । मैले परिचयपत्र ल्याएर पछि सम्बन्धित व्यक्तिलाई बुझाइसकेको छु ।

यो कुनै कब्जा र जर्बजस्ती थिएन । सोही विषयलाई लिएर नामै किटान गरी मतदाता परिचयपत्र कब्जा लिएको जस्ता गम्भीर आरोप लगाई मेरो व्यक्तिगत चरित्र हत्या गर्ने काम भएको छ । एउटा सामान्य प्राविधिक बिषयलाई यो हदसम्मको ठुलो बनाएर व्यक्तिगरुपमा प्रहार हुन्छ भन्ने मैले कल्पनासम्म गरेको थिएन । महासचिव नेतृत्वको सचिवालयको कमजोरीका कारण उत्पन्न समस्यालाई लिएर म, मेरो प्यानलका अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाको नामै किटेर जे जस्ता आरोप लगाइएको छ त्यो गैर व्यवसायीक चरित्र हो भन्ने महसुस भएको छ ।

अन्तमा म हिजो पनि उद्योगी, व्यवसायीकै हकहितमा थिए आज पनि हकहितमै छु । भोली पनि उद्योगी, व्यवसायीको पक्षमा खरो भएर उत्रिने छु । म निर्वाचनको आचरसंहितालाई पूर्णरुपमा पालना गर्दै त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । म लगायत अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्व सहित सम्पूर्ण उम्मेदवारलाई अत्याधिक मत सहित बिजयी गराउन हुन अनुरोध गर्दछु । उद्योगी, व्यवसायी मतदाता, शुभचिन्तकहरु कसैलाई पनि भ्रममा नपर्न अनुरोध पनि गर्छु ।

प्रकाशित मितिः     २७ पुष २०७६, आईतवार २१:०३  |