नेपालगन्ज १ माघ – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग आज बुधवार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश पाँचले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाई दिइन ।
मुख्यमन्त्रीले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताइन । उनले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जिवन्त बनाउने सोंचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको उल्लेख गरिन ।
त्यसैगरी,उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव काम लाग्ने बताइन । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन महामहिम राजदूतलाई आग्रह गरेकी छन् ।
राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताइन ।
मुख्यमन्त्रीले विआरआई परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
मुख्यमन्त्री पोख्रेलले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए ।
त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने बताए ।
लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिध उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताए । उनले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने जनाए ।
मुख्यमन्त्रीले कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धन मार्फत प्रदेशको समृद्धि गर्दै सिंगो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी दिए । केही महिना अघि भएको सिचुवान भ्रमणका क्रममा कृषिको नयाँ प्रविधिबारे त्यहाका कृषि विज्ञसंग भेटेको र त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न आग्रह गरे ।