नेपालगन्ज २ पुस – नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव खर्चिलो हुन थालेको छ । खर्चिलो र भड्किलो चुनाव उम्मेदवारको टाउको दुखाइको विषय बन्ने गरेको छ ।
२०५२ सालदेखि उद्योग वाणिज्य संघमा चुनावी प्रतिस्पर्धाका आधारमा नेतृत्व छनौट हुँदै आएको पाईन्छ ।
हरेक तीन वर्षमा चुनाव हुन्छ । चुनावैपिच्छे खर्च बढ्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।
यसपटक आगामी माघ ११ गते संघको निर्वाचन तोकिएको छ ।
निर्वाचनका लागि दुईवटा प्यानल बनाएर उम्मेदवार घरदैलोमा छन् । चुनावी प्रचार प्रसारले संसदीय चुनावको झझल्किलो दिएको छ ।
उम्मेदवारले पर्चा पम्पलेट वितरण गरेका छन् । घरदैलो नगएको दिन छैन । उम्मेदवारलाई बिहानदेखि रातीसम्म मतदाता रिझाउन फुर्सद छैन । यतिबेला नेपालगन्ज चुनावमय भएको छ ।
चुनाव जित्न त्यत्तिकै सम्भव छैन । उम्मेदवारले ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ ।
यसपटक मात्र होइन बिगतदेखि नै संघमा खर्चिलो चुनाव हुँदै आएको छ । उम्मेदवारले पकेट मत बनाउन नविकरणदेखि नयाँ सदस्यता बनाउन ठुलो धनराशी खर्च गर्ने गरेका छन् ।
‘अधिकांस व्यवसायी आफैले नविकरण र नयाँ सदस्यता लिनै आउँदैनन् ।
उम्मेदवार आफै अगाडी नसर्ने हो भने उसको पकेट मत मात्र होइन संघमा सदस्यता नै नबढ्ने अवस्था छ ।’ संघका एकजना पूर्व पदाधिकारीले भने–‘व्यवसायी र संघबीचको ग्यापका कारण पनि व्यवसायीले सदस्यताका लागि रुची नदेखाएर उम्मेदवार आफै अगाडी सर्ने पर्ने अवस्था छ ।’
सदस्यता नविकरण र सदस्यता वितरणदेखि चुनावी कामसम्म आईपुग्दा उम्मेदवारले पैसा खर्च गर्नुपर्छ ।
चुनावैपिच्छे बढ्दै गएको खर्च देख्दा पैसा नहुने व्यवसायी संघमा पुग्नै नसक्ने अवस्था आउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ ।
‘यहाँ त सांसद कै चुनाव लडे जस्तो भइरहेको छ ।’– संघका पूर्व पदाधिकारी भन्छन्,–‘यस्तो अवस्थाले सामान्य व्यवसायी त चुनाव नै लड्न नसक्ने अवस्था आउने देखियो ।’
संघका पूर्व महासचिव अशोक कर्माचार्य खर्चिलो चुनाव कम गर्न नीतिगत व्यवस्थाको खाँचो परेको बताउँछन् । ‘यसलाई कसरी कम गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी छ ।’– कर्माचार्यले भने ।
पूर्व महासचिव बिष्णु लामिछानेले पनि चुनाव जित्नैका लागि दाउपेच रोक्नका लागि नीतिगत व्यवस्था गरिदिनुपर्नेमा जोड दिन्छन् ।