दश रुपैयामा खाना !
त्यो पनि आजको महङ्गो समयमा ? असम्भव लाग्ने काम सम्भवत गराएका छन्, नेपालगन्ज सदरलाइनका ६९ वर्षिय नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्र्तिकबाट दश रुपैयामा खाना दिने पुण्य काम गर्दै आएका छन् ।
नगरभवन अगाडी हप्ताको मंगलवार र शनिवार ‘मेस’ चलाएर रु दशमा खाना बाड्ने गरिन्छ । पाँचसय सम्म सर्वसाधारण खाना खान पुग्छन् । आफुले कमाएको पैसा महङ्गो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहात त दिएको छ नै खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरु पनि खाना खान पुग्छन् । खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ ।
६९ वर्षिय अग्रवालल नेपालगञ्जका परिचित व्यवसायी हुन । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सन्चालन गर्दै आएका थिए । लामो समय व्यवसायमा संलग्न भएका उनले यतिबेला भने ‘रिटायर्ड’ जिवन बिताइरहेका छन् । ‘छोराहरु बिजनेशमा छन् । म अब भने यस्तै पुण्य कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ ।’– अग्रवालले भने ।
उनका जेठो छोरा आदेश अग्रवालले रामदूत प्रिन्टर्स सन्चालन गरिरहेका छन् । दुई दशक बढि समय संघमा रहेका आदेश अहिले कोषाध्यक्ष छन् भने आगामी माघ ११ गतेको निर्वाचनमा उद्योग तर्फ उपाध्यक्ष उम्मेदवार छन् । त्यस्तै कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । ‘अब केही राम्रो काम गरौं भन्ने लागेपछि मैले छोराहरुसंग सोधे । खर्च कति लाग्छ भनेर छलफल पनि गरे ।’– अग्रवालले भने,–‘छोराहरुले राम्रो काममा साथ दिन्छु भने पछि भोलिलपल्टै काम शुरु गरे ।’
अहिले उनले शुरु गरेको काममा नेपालगन्जका प्रतिष्ठित व्यवसायी सन्जय अग्रवाल, बिजय गुप्ता, रन्जित लखेर, सन्जित ज्वैलर्सले साथ दिएका छन् । ‘अरु साथीहरुले पनि साथ दिएका छन् ।’– अग्रवालले भने,–‘सबैको साथ पाए भने हरेक हप्ता गर्ने योजना रहेको छ ।’ निःशुल्क खाएको छु भन्ने नपरोस् भनेर दश रुपैया शुल् कायम गरेको बताउँदै उनले भने,–‘त्यो पैसा पनि नहुनेलाई सिस्टम नबिग्रियोस् भनेर हामीले दश रुपैया दिएर पनि खाना खुवाएका छौं ।’
अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै बिस्तार गर्दै लैजाने योजना बनाएका छन् । ‘यो पुन्य काममा सबैको साथ पक्कै रहन्छ ।’– अग्रवालले भने,–‘बाँचुन्जेल यो कामलाई चलाइरहने छु ।’