- हिमा बिक
पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष लोकप्रिय बन्दै गएको छ । केही वर्ष अघिसम्म पनि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गरी मनाइने यो उत्सवमा अहिले आम नेपाली समेत जोडिने गरेका छन् । अंग्रेजी नयाँ वर्षमा हुने विभिन्न कार्यक्रम र तिनमा नेपालीको बढ्दो सहभागिताले यसको पुष्टि गर्दछ ।
अंग्रेजी नयाँ वर्ष विदेशीमाझ त महत्त्वको विषय हुने नै भयो, सांस्कृतिक विविधीकरणले नेपालमा समेत यसको गहिरो प्रभाव परेको पाइन्छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरू स्वदेशकै विभिन्न ठाउँ र विदेश जाने क्रम बढ्दै गएको छ । क्रिशमश र नयाँ वर्ष मनाउन नेपाल आउने विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम हुने गरेका छन् ।
आसन्न अंग्रेजी नयाँ वर्षं यसअघिको तुलनामा विशेष पनि छ । सन् २०२० लाई नेपालले भ्रमण वर्षको रूपमा मनाउने घोषणा र सोही अनुसार तयारी समेत गरेकाले यसको महत्त्व बढेको हो । ‘नेपाल पर्यटन वर्ष–२०११’ मनाएको ९ वर्षपछि पुनः भ्रमण वर्षका कार्यक्रम घोषणा गरिएका हुन् । यसको उद्घाटन बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत हुँदै छ ।
नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिने पर्यटन क्षेत्रका लागि अंग्रेजी नयाँ वर्ष पनि एक विशेष अवसर भएको पर्यटन व्यवसायी बताउँछन् । २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राख्दै सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै छ । राष्ट्रिय अभियानकै रूपमा भ्रमण वर्षलाई मनाउने तयारी भइरहँदा अंग्रेजी नयाँ वर्षले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि पनि उत्तिकै योगदान गर्ने विश्वास गरिएको छ ।
पर्यटन क्षेत्रसँग प्रत्यक्ष जोडिएको हस्पिटालिटी क्षेत्रमा अहिले लगानी बढ्दो छ । कतिपयले भ्रमण वर्षलाई नै लक्षित गरेर हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेका छन् । नक्सालमा रहेको म्यारियट काठमाडौं, ठमेलमा रहेको अलफ्ट होटल, होटल विवान्त, भैरहवाको बोधी रेडसन र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियर होटल यसका पछिल्ला उदाहरण हुन् । यसैगरी शेराटन, हिल्टन होटेललगायत पाँच तारेस्तरका होटल निर्माणाधीन अवस्थामा छन् । यही भ्रमण वर्षभित्रै यी होटल निर्माण भई सञ्चालनमा आउँदै छन् ।
सन् २०१५ को जनवरीमा नेपालमा आउने विदेशी पर्यटकको संख्या ३८ हजार ६१६ थियो । २०१७ र २०१८ को सोही अवधिमा यो संख्या क्रमशः ६२ हजार ६३२ र ७३ हजार १८७ थियो भने २०१९ को जनवरीमा ९१ हजार ७९३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्ला वर्षमा विदेशी पर्यटक बढ्दै गएको यो तथ्यांकबाट थाहा हुन्छ । यो तथांकको प्रवृत्ति र नेपाल भ्रमण वर्षको प्रभावले आगामी जनवरीमा पनि उक्त संख्या बढ्ने देखिएको छ ।
होटल व्यवसायीले होटलको क्षमता विस्तार गरिएसँगै पर्यटकका लागि खाना, बसोवासको समस्या नहुने बताएका छन् । अहिलेकै अकुपेन्सीबाट नै २५ लाख पर्यटकलाई सेवा दिन सकिने होटल एशोसियशन नेपाल ९हान०का पूर्वअध्यक्ष अमरमान शाक्य बताउँछन् । हवाई सेवा सञ्जाल र स्तरीय सडक भए मात्रै पनि चीन र भारतबाट लाखौं पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । नेपालको होटल क्षेत्रमा रू। १० खर्बभन्दा बढी लगानी भएको होटेल एशोसिएशन नेपाल ९हान०को आकलन छ । पर्यटकीय गन्तव्यका हिसाबले नेपाल उपयुक्त स्थान भए पनि प्रचारप्रसार र पूर्वाधार अभावले यो क्षेत्रको विकास अपेक्षित रूपमा हुन सकेको छैन ।
यसै सन्दर्भमा अंग्रेजी नयाँ वर्ष नेपालका लागि पर्यटक आगमन बढाउन तथा नेपालको अन्तरराष्ट्रिय बजार विस्तार र प्रवद्र्धनका लागि उपयुक्त माध्यम बन्न सक्छ । साथै यसले मुलुकभित्रको हस्पिटालिटी क्षेत्रको कारोबारलाई पनि गति दिन सक्छ । कुनै पनि ‘सेलिब्रेशन डे’ले पर्यटन क्षेत्रलाई उत्साहित पार्ने भएकाले लगानी तथा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्ने हानका प्रथम उपाध्यक्ष विनायक शाहको तर्क छ । ‘नयाँ वर्षमा नयाँ कुरा गरौं भन्ने सोचअनुसार मानिसहरू बिदामा बस्ने र योजना बनाउने गर्छन्,’ उनले भने, ‘रेस्टुँरा कल्चर बढिरहेकाले होटल तथा रेस्टुराँ व्यवसायीले पनि यस अवसरमा अफर घोषणा गर्छन् ।’
यस्तै एस होटल तथा रिसोर्ट प्रालि ९होटल एम्बासडर०का कार्यकारी अध्यक्ष योगेन्द्र शाक्य नयाँ वर्षमा बाह्यभन्दा आन्तरिक पर्यटकका कारण बढी चललपहल हुने धारणा राख्छन् । विदेशीमा क्रिसमस भव्य रूपमा मनाइने हुँदा नेपाल आएका पर्यटक पनि स्वदेश फर्कने गर्दछन् । यसबाट नयाँ वर्षमा धेरै बाह्य पर्यटक नेपालमा नहुने अनुभव उनको छ । अहिले धेरैजसो प्याकेज किन्नेहरूमा नेपाली नै हुने गरेको पर्यटन व्यवसायी बताउँछन् । पछिल्ला दिनमा विदेशीभन्दा स्वदेशी पर्यटकले बढी खर्च गर्न थालेको पनि उनीहरूको भनाइ छ ।
नयाँ वर्षको शुरुआत हुनेबित्तिकै घुमघामको माहोल बढ्ने हुँदा पर्यटकको आगमन बढ्ने गर्छ । पर्यटक आगमन बढाउन विभिन्न मेला÷महोत्सव ९फेस्टिभल० पनि हुने गर्दछन् । नेपाल पर्यटन बोर्डले पनि यस्ता नयाँ वर्षको अवसर पारेर पोखरा, चितवन, काठमाडौं लगायत पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
सरकारले अघि सारेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा पनि सरकारी र निजीक्षेत्रको साझेदारी आवश्यक देखिन्छ । खासगरी अहिले काठमाडौं, पोखरा, चितवनको सौराहा, नेपालगञ्ज, लुम्बिनीलगायत केही प्रमुख शहर नै लोकप्रिय पर्यटन गन्तव्य हुन् । यो दायरा बढाउन सरकारले अघि सारेका १०० पर्यटकीय गन्तव्य कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउन जरुरी छ ।
यसैगरी नेपालमा पर्यटकीय सिजनका महीना ९सेप्टेम्बर–अक्टोबर–नोभेम्बर०भन्दा जनवरी महीनामा पर्यटक आगमन अन्य महीनामा भन्दा बढी देखिन्छ । अन्य महीनाको तुलनामा भन्दा जनवरीमा पर्यटकको आगमन सन्तोषजनक रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बैंकको तथ्यांक अनुसार विगत ५ वर्षको जनवरीमा नेपाल घुम्न आउने पर्यटकको संख्यामा क्रमिक सुधार हुँदै गएको छ । नेपाल भ्रमण वर्ष र नयाँ वर्षको आगमनले नेपालको हस्पिटालिटी क्षेत्रमा सुधार ल्याउने विश्वास होटल व्यवसायीको छ । त्यस्तै, अहिले हस्पिटालिटी क्षेत्रलाई गुणस्तरीय सावित गर्ने चुनौती पनि पर्यटन व्यवसायीको छ ।
पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेसँगै निजीक्षेत्रका लगानीकर्ता नयाँ होटल खोल्ने, पुराना स्थापित होटलको ‘रेनोभेशन’ गर्ने, उपत्यकाबाहिर लगानी विस्तार गर्ने योजनामा छन् । १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर २०११ मा मनाइएको पर्यटन वर्षको लक्ष्य २०१८ मा आउँदा सफल भएको थियो । अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण वर्षको लक्ष्य कति वर्षमा सफल हुने हो त्यो भने हेर्न बाँकी छ । सरकारको पर्यटक भित्र्याउने घोषणाले निजीक्षेत्र उत्साहित देखिन्छ । यो लगानी तथा पर्यटन व्यवसाय फस्टाउने अवसर पनि हो । यसलाई अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलनले थप प्रचारप्रसार र लगानी गर्न प्रेरित गर्ने देखिन्छ । आर्थिक अभियानबाट