नेपालगञ्ज – जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण समितिको बैठकले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गका वन्यजन्तु मैत्री पूर्वाधार तयार निर्माणलाई प्राथमिकता दिने भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको प्रमुख आतिथ्यता बसेको बैठकले वन्यजन्तुलाई सवारी दुर्घटनाबाट जोगाउन वन्यजन्तु मैत्री पूर्वाधार बनाउने कार्यलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
बैठकले वन डडेलो नियन्त्रण गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने गरी कार्ययोजना अगाडी बढाउने निर्णय गरेको छ । त्यस्तै संरक्षणको सचेतनाका लागि जनपरिचालन अभियान चलाउने निर्णय गरेको छ ।
बैठकको अध्यक्षता बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले गरेका थिए । बैठकमा नेपाली सेनाका प्रमुख सेनानी जिवन शर्मा लगायतको सहभागिता रहेको थियो ।